इलाका प्रहरी कार्यालय वानाको आवास भवन उद्‍घाटन

इलाका प्रहरी कार्यालय वानाको आवास भवन उद्‍घाटन

इलाका प्रहरी कार्यालय वानाको नवनिर्मित आवास भवन उद्‍घाटन सम्पन्न भएकाे छ । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआइजी चन्द्र कुबेर खापुङले बिहीबार आवास भवन, मेस र शौचालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमा डीआइजी खापुङले भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर-पत्र प्रदान गरे । डीआइजी खापुङले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर तथा थप प्रभावकारी हुन जरुरी रहेको बताए । नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई दृढताका साथ काम गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए । ‘सुरक्षा नै सबैभन्दा पहिलो सर्त रहेको र सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवं दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ,’ उनले भने ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय प्रमुख सुमन शाक्यले प्रहरी समाजको अभिन्न अंग भएको र समाजमा हुने हरेक गतिबिधिमा प्रहरीको सकरात्मक भूमिकाले समाज परिवर्तनमा योगदान पुर्‍याउने कुरालाई जोड दिए । त्यस्तै, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राईले शान्ति सुरक्षा बिना बिकासका काम अघि बढ्न नसक्ने हुँदा प्रहरीलाई स्थानीय पालिकाबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संखुवासभा जिल्लाका समन्वय प्रमुख सुमन शाक्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमनणि घिमिरे, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न कार्यालयका प्रमुख/प्रतिनिधिहरु, पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरु,स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, स्थानीयवासी एवम् प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति थियो ।

सम्बन्धित खबर