बलात्कारका आरोपी दुई वर्षपछि पक्राउ
विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मकालु गाउँपालिका-५, मांसिमाका ३१ वर्षीय लीलाबहादुर गुरुङलाई पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त टोलीले सुनसरीको धरान उपमहानगरपालिका-१६, हंसमार्गबाट गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपित गुरुङले २०७९ चैतमा शारीरिक अपांगता भएकी एक युवतीलाई विवाह गर्ने लोभ देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।
गुरुङउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।