व्यस्त छ भोटखोला
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको जिल्लाको उत्तरी गाविसहरु किमाथांका, हटिया, चेपुवा र पावाखोला (१, २ र ३ नम्बर वडा) गाभेर बनेको छ भोटखोला गाउँपालिका । भोटखोला मुख्य रुपमा भोटे (शिङसावा, ल्होमी) समुदायको बसोवास रहेको क्षेत्र हो । नयाँ संरचना बन्नुअघि पनि सो क्षेत्रलाई भोटखोला भनिन्थ्यो । भोटखोलाको अर्को उपमा थियो ‘पूर्वको कर्णाली’ । जसरी कर्णाली सुगमतातर्फ लम्किरहेको छ, भोटखोलाले पनि विगतको ‘पूर्वको कर्णाली’ परिचय बदल्दैछ । चीनसँगको किमाथांका नाकामा जोडिने उत्तर-दक्षिण कोशी राजमार्ग भोटखोलाको बिच भएर जान्छ । हिउँदमा चेपुवासम्मै सवारी र ढुवानीका साधन चल्छन् । सडक थप अगाडि किमाथांकातर्फ निर्माण हुने क्रम जारी छ । तर वर्षा याममा भने भोटखोलाको नियति उस्तै हुन्छ, ‘पूर्वको कर्णाली’कै युगको । अहिले पनि सडक मात्र होइन, गोरेटो बाटोहरु पनि बाढी र पहिरोले क्षतिग्रस्त छन् । खोला र खोल्सीहरुमा भेल उर्लँदो छ । एक महिनाअघि खुलेको किमाथांका नाका पहिलेजसरी पूर्ण सहज बनिसकेको छैन । भोटखोलावासीहरु कहिले बिजुली त कहिले सीमा नाकाका गुनासोहरु बोकेर सदरमुकामदेखि संघीय राजधानीसम्म धाउँछन् पटक-पटक । केही गुनासो सम्बोधन भए होलान् । केही सम्बोधनको क्रममा होलान् । भूगोल नै नियति बनेको भोटखोलाको गुनासो पनि थपिइरहन्छ एकपछि अर्को गरेर । तर गुनासोले मात्र कहाँ चल्छ ? नियमित दैनिकीबाट भागेर । कोदो भोटखोलामा उत्पादन हुने मुख्य खाद्यान्न बाली हो । यसका अतिरिक्त धान लगायतका खेतीपातीले पनि धान्न सघाउँछ भोटखोलालाई । यतिबेला यही खेतीबालीको याम छ । झरीबादल, घामपानी, उकालीओराली झेल्दै यिनै कृषि कर्ममा अहिले व्यस्त छ भोटखोला ।
तस्बिरहरु : राजेन्द्र थापा ।