ताप्लेजुङमा धान नाचको प्रतिमा निर्माण हुँदै
ताप्लेजुङको फुङलिङस्थित तोक्मे बजारमा धान नाच (याःलाङ्)को प्रतिमा निर्माण भइरहेको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा प्रतिमा निर्माण भइरहेको हो ।
आगामी भदौ अन्तिमसम्म निर्माण सम्पन्न हुनेगरी काम भइरहेको चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उनका अनुसार प्रतिमा निर्माणमा ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पाँच फिट उचाइको पिलरमाथि रहने प्रतिमाको पृष्ठभूमिमा कृत्रिम फक्तालुङ र मुकुम्लुङ हिमाल, घेराबार, वरिपरि ढुंगा बिच्छ्याउने र बस्नका लागि फलैंचा पनि निर्माण हुने चुम्लुङले जनाएको छ । काँस धातुबाट बनाइने उक्त प्रतिमा साढे छ फिट उचाइको हुनेछ ।
लिम्बु याक्थुङ जातिको सांस्कृतिक परम्परालाई अमर बनाउन र याक्थुङ इतिहासलाई बचाउन प्रतिमा निर्माण गर्न लागिएको चुम्लुङले जनाएको छ ।