संखुवासभाको एसईई नतिजा : कुनै विद्यालय ‘निल’, कुनै अब्बल कसरी ?

संखुवासभाको एसईई नतिजा : कुनै विद्यालय ‘निल’, कुनै अब्बल कसरी ?

संखुवासभामा सामुदायिक ६४ र संस्थागत ९ गरी ६३ वटा माध्यमिक विद्यालय छन् । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि २ हजार ७०४ विद्यार्थीले फाराम भरेका थिए । यसमध्ये ३५ जना परीक्षामा अनुपस्थित रहे भने २८ जना अघिल्लो वर्षकै विद्यार्थीहरु हुन् । खुद २०८० सालको मात्र विद्यार्थी गणना गर्दा जिल्लाको एईई उत्तीर्ण (ग्रेडिङ भएका) प्रतिशत २४.६१ प्रतिशत हो । अर्थात परीक्षामा सहभागी २ हजार ६४१ मध्ये ६५० जना मात्र ग्रेडिङ भएका छन् भने १ हजार ९९१ ननग्रेड भए । तर, शिक्षा विकास निर्देशनालय, धनकुटाले भने फाराम भरेका सबैलाई आधार मानेर संखुवासभाको ग्रेडिङ प्रतिशत २३ सार्वजनिक गरेको छ ।

देशभर घटेको हो उत्तीर्णदर

चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईई परीक्षामा नियमिततर्फ कुल ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ २ लाख २२ हजार ४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ‘ननग्रेड’ (एनजी) ल्याएका छन् । यसपटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अंक ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्णदर घटेको ठाानिएको छ । नयाँ व्यवस्थाअनुसार सैद्धान्तिकतर्फ ७५ पूर्णाङकमा कम्तीमा २७ र आन्तरिक तथा प्रयोगात्मकतर्फ २५ पूर्णाङकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ ।

कुन विषयमा कति नन ग्रेड ?

संखुवासभाको हकमा गणित सबैभन्दा कठिन विषय भएको देखिएको छ । जिल्लाभर १ हजार ७२४ जना विद्यार्थी गणितमा ननग्रेड भएका छन् । दोश्रो बढी विज्ञानमा १ हजार ४३४ र तेश्रो अंग्रेजीमा ८९८ जना विद्यार्थी ग्रेडिङ हुन सकेनन् । त्यसैगरी ननग्रेड हुनेहरुमा अर्थशास्त्रमा ४७९, सामाजिकमा ३१६, नेपालीमा २९३ र गणित तथा तथ्यांकमा १०९ जना रहेका छन् । यही साउन २३ देखि ३१ गतेसम्म सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाका लागि जिल्लामा पाँच केन्द्र तोकिएका छन् । सरस्वती मावि चैनपुर, शारदा मावि पोखरी, महेन्द्र मावि मानेभञ्ज्याङ, हिमालय मावि खाँदबारी र वागीश्वरी मावि ढुंगेधारामा एसईई परीक्षा २०८० को पुरक परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाले जनाएको छ ।

तीन विद्यालय ‘निल’, १२ विद्यालयबाट १ जना उत्तीर्ण

२०८० सालको एसईईमा जिल्लाका तीन विद्यालयको उत्तीर्ण संख्या शुन्य छ । सिलिचोङ गाउँपालिकाको बाला मावि बाला, सभापोखरी गाउँपालिकाको हिम मावि स्वाची र मकालु गाउँपालिकाको हिमालय मावि गोलेचौरका कुनै पनि विद्यार्थी ग्रेडिङ भएनन् । बाला माविबाट १०, हिम माविबाट १४ र हिमालय माविबाट ५३ विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।

१२ विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । भोटखोला गाउँपालिकाको अरुणोदय मावि लिंगमबाट २७, धर्मदेवी नगरपालिकाको भगवती मावि मूलगाउँबाट ११, मादी नगरपालिकाका विद्यालयहरु बिनोद मावि मूलखर्कबाट २५, नारायण मावि ओखरबोटेबाट ५१ र मादी मावि मादीबाट ३६ विद्यार्थी एसईईमा सहभागी थिए । उल्लिखित सबै विद्यालयबाट एक/एक जना विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । त्यस्तै सिलिचोङ गाउँपालिकाका विद्यालयहरु बाला याम्दाङ मावि तेयुङका ३९, कालिका मावि नेवाटारका २२, चिचिला गाउँपालिकाका विद्यालयहरु धर्मदेवी मावि देवीटारका १६, प्रभात मावि वर्देउका १७, चैनपुर नगरपालिकाका विद्यालयहरु सिंहदेवी मावि नुनढाकीका २७, सरस्वती मावि मैदानेका १७ र सभापोखरी गाउँपालिकाको कैलास मावि पावाका ८ जना विद्यार्थीमध्ये एक/एक जना मात्र २०८० सालको एसईईमा ग्रेडिङ भएका छन् ।

संस्थागत नै अब्बल, सामुदायिकतर्फ खप्टुवा अगाडि

जिल्लाका विद्यालयमध्ये खाँदबारीस्थित सनसाइन अंग्रेजी बोर्डिङ स्कुल विराटटोल अब्बल देखिएको छ । १५ जनाले एसईई दिएकामा १ जना २.४ माथि, ५ जना २.८ माथि, ७ जना ३.२ माथि र २ जना ३.६ माथि जीपीए ल्याएर सनसाइनका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ पाँचखपनको खप्टुवा मावि लिङलिङ अगाडि छ । एसईईमा सहभागी खप्टुवाका ३९ विद्यार्थीमध्ये ३० जना अर्थात ७६.९२ प्रतिशत उत्तीर्ण भए । यहाँका ४ विद्यार्थीले ३.२ माथि जीपीए हासिल गरेका छन् । पाँचखपनकै शिवालय मावि कुसुवाको पनि ६० प्रतिशत विद्यार्थीले एसईईमा ग्रेडिङ हासिल गरेका छन् । शिवालय माविबाट १५ विद्यार्थी एसईईमा सहभागी भएकामा ९ जना उत्तीर्ण भएका हुन् ।

खप्टुवा अगाडि कसरी ?

२०१२ सालमा स्थापित खप्टुवा मावि लिङलिङका विद्यार्थी २०५६ सालदेखि एसएलसी (हालको एसईई) सहभागी भएका हुन् । अंग्रेजी विषयका शिक्षक प्रेम तामाङले २०७४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् । प्रअ तामाङसँग याक्सिगुमखबरले गरेको कुराकानीका आधारमा शिक्षा नीतिको पालना, कडा मेहनत र अनुशासनबाटै यो सफलता सम्भव भएको हो । कोरोना महामारीअघि पनि विद्यालयले नगरपालिकाभरिमा सर्वोत्कृष्ट भएको प्रअ तामाङले बताए । ‘आर्थिक, भौतिक, जनशक्ति लगायतका सबै किसिमका चुनौती झेलेर भए पनि हामीले पिरियड अवधि पु¥याएर र मूल्यांकन आधारमा आधारित भएर पठनपाठन गराइरहेका छौं,’ उनले भने । शिक्षक कक्षाकोठामा प्रवेश गरेको, निस्किएको र पठनपाठन भएको विषयवस्तुसमेत उल्लेख गर्नेगरी प्रत्येक कक्षामा टाइम कार्ड प्रणाली लागू गरिएको उनले बताए । भन्छन्, ‘नीतिअनुसार काम नगर्ने तर सरकारको नीतिलाई मात्र दोष दिइरहने प्रवृत्तिले उपलब्धि हासिल हुँदैन । आफ्नोतर्फबाट पनि केही कोसिस गर्ने हो भने नतिजा हासिल हुन्छ ।’

साताको अन्तिम शुक्रबार मात्र अतिरिक्त क्रियाकलाप गरेर बाँकी सबै दिन पठनपाठनमै केन्द्रित भएको प्रअ तामाङले सुनाए । उनका अनुसार विद्यालयमा दरबन्दी अभाव सबैभन्दा ठूलो समस्या छ । मावि तहमा कार्यरत राहत कोटाका शिक्षकहरु स्थायीमा नाम निकाल्दै पदस्थापन भएर जाने हुँदा पठनपाठनमा बाधा पुगेको उनले बताए । यसै कारण केही विषयको नतिजा कमजोर आएको उनको बुझाइ छ । खप्टुवा माविका अनुत्तीर्ण ९ विद्यार्थीमध्ये सबैले विज्ञान र आठ जना गणितमा समेत नन ग्रेड भएका हुन् । हाल कक्षा १० मा ३५ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ तामाङले बताए ।

‘निल’ खाएका प्रधानाध्यापक बहुत दुखी

सिलिचोङ गाउँपालिका-२ मा रहेको बाला माविबाट १० विद्यार्थीले एसईई दिएका थिए । तर, एकजना पनि ग्रेडिङमा परेनन् । १२ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका अंग्रेजी शिक्षक इन्द्रबहादुर कुलुङ सोही विद्यालयमा पढेका हुन् । २०१६ सालमा स्थापित यस विद्यालयले २०६६ सालदेखि विद्यार्थीलाई एसएलसीमा सहभागी गराएको हो । यस विद्यालयको मावि तह प्रस्तावित छ । गणितमा सबै र ७ जना विज्ञानमा समेत नन ग्रेड भए । विद्यालयको यस नतिजाले आफू बहुत दुखी भएको प्रअ कुलुङ बताउँछन् ।

विद्यार्थीको ‘फेल भइन्न’ भन्ने भावना र यस वर्षको फरक मूल्यांकन प्रणालीले आफ्नो विद्यालयको नतिजा अत्यन्त कमजोर भएको प्रअ कुलुङको बुझाइ छ । यसै पनि २०८० सालको एसईईमा सहभागी विद्यार्थी कमजोर रहेको अझ कठिन भनिएका विषयमा अतिरिक्त कक्षाहरु सञ्चालन गर्न नसक्दा पनि नतिजा शुन्य भएको उनले बताए । उनका अनुसार बाला माविले कुनै समय पालिकाकै उत्कृष्ट नतिजा ल्याएको थियो । विद्यालयको शिक्षाप्रति अभिभावकहरुले चासो नदिएको र विद्यार्थीले समेत पढाईमा मेहनत नगरेको उनी गुनासो गर्छन् । न्यूनतम हाजिरी नपुग्दासमेत परीक्षमा सामेल गराउनु परेको उनले बाध्यता सुनाए । पछिल्लो समय विद्यालयको भौतिक पूर्वाधारमा केन्द्रित हुनु परेकाले पनि शैक्षिक गुणस्तर खस्कन पुगेको उनको बुझाइ छ । बसाइसराईका कारण विद्यालयमा विद्यार्थी घटिरहेको र यसले शैक्षिक गुणस्तरमा समेत प्रभाव पारेको प्रअ कुलुङ बताउँछन् । उनका अनुसार कुनै समय सो विद्यालयको कक्षा १० मा ५०/६० जना विद्यार्थी हुन्थे ।

अब भने कार्यक्रम नै बनाएर अगाडि बढ्ने प्रअ कुलुङको योजना छ । शैक्षिक सचेतना कार्यक्रमका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन भएको उनले जानकारी दिए । ‘अब हामी विद्यार्थीको शैक्षिक अवस्थाबारे मासिक रुपमै अभिभावकलाई जानकारी दिएर छलफल गर्र्छौं । अतिरिक्त क्रियाकलाप घटाएर सकेसम्म बढी पठनपाठनमै केन्द्रित हुन्छौं,’ उनले योजना सुनाए । सिकाइलाई प्रभावकारी बनाउन प्रत्येक कक्षामा पढाई हुने विषय, शिक्षक कक्षामा पसेको र निस्केको समयसमेत अभिलेखीकरण गर्ने उनको योजना छ । पालिकाको बजेटले तत्कालै सेवा क्षेत्रभित्रका शिक्षक-अभिभावक-विद्यार्थीबीच सचेतना कार्यक्रम गर्ने र सम्बन्धित गैरसरकारी संस्थाहरुबाट आवश्यक परामर्श लिएर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाउने प्रअ कुलुङले बताए । अहिले कक्षा १० मा ११ विद्यार्थी अध्ययनरत छन् । खासगरी अभिभावकहरुबाट साथ र सहयोग पाए आगामी वर्ष उत्कृष्ट नतिजा दिने उनले प्रतिवद्धता जनाए ।

जिल्लाको नतिजा किन खस्कियो ?

हुन त यस वर्ष देशैभरको एसईई नतिजा सन्तोषजनक रहेन । कोसी प्रदेशका १४ जिल्लामध्ये उच्च नतिजा सोलुखुम्बुको ८७ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः सुनसरी ६४, मोरङ ५३ र खोटाङ ५१ प्रतिशत छ । सबैभन्दा कमजोर भने ताप्लेजुङ १४, भोजपुर १८, संखुवासभा २३, पाँचथर २६ रहेको छ । यसअनुसार प्रदेशभरमा संखुवासभाको नतिजा तेश्रो कमजोर स्थानमा छ ।

निरन्तर मूल्यांकन नहुँदा एसईईको नजिता कमजोर हुन पुगेको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका प्रमुख गोपालमान भण्डारी बताउँछन् । कोरोना महामारीपछि विद्यार्थीमा पढ्ने र मेहनेत गर्ने बानी हट्नु, सजिलै पास भइन्छ भन्ने मानसिकता बन्नु र समग्र जिल्लाको भौगोलिक विकटताले पनि शिक्षाको गुणस्तरमा असर पारिरहेको उनको बुझाइ छ । यसका साथै अपर्याप्त दरबन्दी पनि कारक रहको उनी बताउँछन् । उनका अनुसार जिल्ला ४४ विद्यालयमा मात्र मावि दरबन्दी पूरा छ ।

संखुवासभाको एईई उत्तीर्ण दर:-

सम्बन्धित खबर