संखुवासभामा ६ महिनायता मानव अधिकार उल्लंघनका २४ घटना

संखुवासभामा ६ महिनायता मानव अधिकार उल्लंघनका २४ घटना

संखुवासभामा ६ महिनाको अवधिमा २४ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधकार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका २४ घटनामा २४ जना पीडित रहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेकले जनाएको छ ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ४ बालिकासहित ६ जना बलात्कृत, ४ जनाको हत्या, कुटपिट गैरराज्य पक्ष १, घरेलु हिंसाका १०, हातपात १ जना, १ जना मृत्यु र १ जना आत्महत्या दुरुत्सानको घटना अभिलेख गरेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा तुलनात्मक रुपमा कम भएको इन्सेकले जनाएको छ ।

इन्सेकले जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको अभिलेखीकरण गरेर राज्यलाई खबरदारी गर्दै आएको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए । इन्सेकले पालिकास्तरसम्म प्रतिनिधि राखेर न्यायिक समितिमा अभिलेख तथा घटनाहरु समेट्न आवश्यक भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले संखुवासभामा कानुन कार्यन्वयन राम्रो भएका काराण सबै पक्षलाई कानुनी दायरामा ल्याएको र कानुनी उपचारसमेत पाएका कारण इन्सेकको बर्ष पुस्तकमा नमुना जिल्लाको रुपमा अभिलेख हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी घनश्याम श्रेष्ठले पनि पछिल्लो समय मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा कमी आएको बताए ।

सम्बन्धित खबर