साउने संक्रान्ति : अब त बाँचिन्छ
किराती समुदायले साउने संक्रान्ति पर्व आज मनाउँदै छन् । किरातहरूले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ ।
साउने संक्रान्तिका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई अन्न, फलफूल र पात संकलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको छ ।
त्यसपछि सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । साउने संक्रान्तिका दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर बन्दुक पड्काइन्छ । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने चलन रहेको छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘अनिकाल जाउ, सहकाल आउ’ भन्ने आदि भावमा अनिकाल वा दुःख-पीडालाई त्यसरी पर्वका रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-सांस्कृतिक विकृति-विसंगति र सिंगो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै संक्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे संक्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको बताइन्छ ।
साउने संक्रान्तिलाई ‘अब बाँचिन्छ है’ भनेर मनाउनु पर्ने याक्खा जातिको मान्यता छ । साउने संक्रान्तिसँगै मकै पाकेको, फलफूलहरू फलेकाले अनिकाल पनि टर्न थालेको र कामको चाप पनि क्रमशः कम हुँदै गएको हुनाले अब बाँच्न सहज भएको भनाइ छ । यसअघि माघे संक्रान्ति भने ‘अब मरिएला कि बाँचिएला’ भन्ने विरक्त भावसहित मनाइने गरिन्छ । माघे संक्रान्तिपछि अन्नपात सकिएर अनिकाल लाग्न सुरु हुने, खेतीपातीको चाप बढ्ने र वर्षातको कठिनाइपूर्ण जीवन सुरु हुने भएकाले त्यस्तो भाव हुने गरेको हो ।
यसरी एक, दुई दिनको छोटो अवधिको पर्व भए पनि साउने संक्रान्तिले याक्खा जातिमा विशेष स्थान बनाएको छ । कामको हिसाबले वर्षकै सर्वाधिक खटिनुपर्ने विशेष समयमा पर्ने यस पर्वले याक्खा गाउँबस्ती र जनजीवनमा ल्याउने रौनकता र उल्लास पनि विशेष नै हुन्छ । मूल थलोबाहिर स्वदेश तथा विदेशमा रहेका याक्खाहरूले पनि साउने संक्रान्तिलाई उत्तिकै उल्लासका साथ मनाउने गर्दछन् ।
साउने संक्रान्तिमा याक्खाहरूले पितृहरूको सम्झनासमेत गर्दछन् । खास गरी यस अवसरमा पोलेको मासु र जाँड चढाउने चलन छ । यसका साथै यो मौसममा पाकेको चैते धान र मकै लगायतका अन्नबाली तथा फलफूल पनि पितृहरूको नाममा चढाइन्छ । यसरी नचढाई खाएमा मुख बांगिन्छ वा शारीरिक समस्या आउँछ भन्ने याक्खा समुदायमा विश्वास रहिआएको छ ।
साउन २ गते राँकेको दिन याक्खाहरूले खेतबारीको काम गर्दैनन् । यस दिन खेतबारीमा पसे मात्र पनि खेतीबाली पहेँलिन्छ र सुक्छ भन्ने याक्खा समुदायमा मान्यता छ । खेतीपातीको जतिसुकै चटारो भए पनि यस दिन काम गरिँदैन, घरमै आराम गर्छन् । युवायुवतीहरू हाटबजार वा यस अवसरमा लाग्ने मेला भर्न जान्छन् ।