संखुवासभाको सिसुवाखोलामा ढुंगाले किचेर सासुबुहारीको मृत्यु, छोरी गम्भीर घाइते
सिसुवाखोला क्षेत्र जिल्लामै पहिरोको उच्च जोखिमयुक्त
फाइल तस्बिर ।
सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे घर माथिबाट पहिरोसँगै खसेको ठूलो ढुंगाले किचेर ४९ वर्षीया मोतिमाया राई र उनकी बुहारी २५ वर्षीया समिक्षाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार ढुंगाले किचेर मोतीमायाकी २९ वर्षीया छोरी रविना गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते रविनाको देब्रे खुट्टा चुँडिएको छ भने उनको शरीरका विभिन्न भागमा समेत चोट लागेको छ । घरमा रहेको ६ जनामध्ये तीन जना सकुशल रहेको छन् । गम्भीर घाइते रविनाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
मंगलबार बिहान साउने संक्रान्ति मनाउन तयारी गरिरहेको बेला घटना घटेको वडा अध्यक्ष अनिश कुलुङले जानकारी दिए । उनका अनुसार करिब आठ सय मिटरमाथिबाट झरेको ढुंगाले किचेको घरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सिसुवाखोला क्षेत्र जिल्लामै पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हो । चार वर्षअघि सिसुवाखोलाको बेसिन्दामा पहिरो जाँदा ११ जना बेपत्ता हुँदा १ सय ४ परिवार विस्थापित भएका थिए ।
घटनास्थल सदरमुकाम खाँदबारीदेखि दुई दिनको पैदल दुरीमा पर्दछ । घटनाको विषयमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।