‘विद्युत र सिँचाइ दुवै क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउँछु’

देशभरका सबै घरमा विद्युत पुर्‍याउने कुरालाई मुख्य प्राथमिकता

‘विद्युत र सिँचाइ दुवै क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउँछु’

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री खड्काले सोमबार पदभार ग्रहण गरेका छन् ।

आफ्नो कार्यकालमा विद्युत र सिँचाइ दुवै क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । मन्त्रालयमा सोमबार पदवहाली गर्दै मन्त्री खड्काले आफ्नो मन्त्रालय मातहत अल्पकालीन र दीर्घकालीन दुवै खालका कार्ययोजनाहरू तयार पारेर नयाँ ढंगबाट अगाडि बढ्ने मन्त्री खड्काले पहिलो निर्णय गरे ।

पत्रकारहरूको जिज्ञासामा उनले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद आफू मन्त्री नबन्दा पनि नजिकबाट नियालेकाले त्यसलाई समस्याका रूपमा भन्दा पनि उपयुक्त निकास निकाल्न प्रयास गर्ने बताए । उनले भने, ‘म भर्खरै आएको छु । मेरो मन्त्रालयमा दुइटा महत्त्वपूर्ण पाटालाई समानान्तर रूपमा प्राथमिकताका साथ अगाडि बढाउँछु । देशभरका सबै घरमा विद्युत पुर्‍याउने कुरालाई मुख्य प्राथमिकता दिनेछु । राष्‍ट्रिय आवश्यकता पूर्ति हुने गरी विद्युत उत्पादन गर्ने र सरकारले १० हजार मेगावाट विद्युत निर्यात गर्ने निर्णय र सम्झौता गरिसकेको छ । त्यसलाई चाँडोभन्दा चाँडो उत्पादन गरेर कार्यान्वयन गराउने हाम्रो लक्ष्‍य रहने छ ।’

सिँचाइको क्षेत्रमा पहाड र तराई दुवैतिर अलग-अलग समस्या रहेको उल्लेख गर्दै मन्त्री खड्काले ती समस्या पहिचान गरेर सबै ठाउँमा सिँचाइ सुविधा उपलब्ध गराउन आफूले भरमग्दुर प्रयास गर्ने बताए । ‘सिँचाइ सुविधा उपलब्ध नभएकै कारण अहिले खाद्यान्‍न आयात गरिरहनु परेको छ । त्यो अवस्था अन्त्य होस् भन्‍ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने छु,’ उनको प्रतिवद्धता छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका-८, आँखीभुई‌मा २०२८ मा जन्मिएका खड्का उच्च शिक्षा अध्ययनका लागि काठमाडौ‌ं रहँदा २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए ।  २०६७ सालमा संखुवासभाबाट कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भए । सोही क्रममा उनी २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए ।

२०७४ सालको निर्वाचनमा भने खड्का वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजेन्द्र गौतमसँग पराजित भए । २०७९ सालको निर्वाचनमा भने कांग्रेस-माओवादी गठबन्धनबाट चुनाव लडेका उनी गौतमलाई नै पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसको १४औं अधिवेशनमा उनी संखुवासभा जिल्ला सभापतिमा निर्वाचित भएका उनले पछि पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित खबर