आदिवासीको भाषा हराउँदा के हुन्छ ?
पछिल्लो समय आएर विश्वभरिका मानिसहरु हराउँदै गएको वा हराएको आफ्नो इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभूषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, परम्परागत ज्ञान, परम्परागत कानुन आदिलाई सकेसम्म जीवित राख्ने प्रयासमा लागेका छन् । सो कामका विश्वका धेरै देशका सरकारले ठूलो धनराशी लगानी गरिरहेका छन्, गर्दैछन् ।
विगत लामो समयदेखि संयुक्त राज्य अमेरिकाले विश्वभरिका प्रायः सबै देशका मानिसहरुलाई डीभी भर्ने प्रक्रियामार्फत छानीछानी आफ्नो देश भित्र्याउनुमा पनि विश्वका सबै किसिमका मानव वंश, मातृभाषा, संस्कार-संस्कृति, परम्परागत आदिलाई आफ्नो देशमा ‘विशाल संग्रह’का रुपमा संरक्षण एवं सम्वर्द्धन गरेर राख्नका लागि हो । साथमा आधुनिक शिक्षा, ज्ञान र सिप त सिकेका हुन्छन् नै ।
साँच्चै अमेरिकाले विश्वभरिका मानिसहरुलाई डीभी प्रक्रियामार्फत विश्वभरका मानिसहरुलाई भित्र्याएर आफ्नो देशमा ‘विशाल संग्रह’ बनाउन खोजेको हो भने यस्तो कामलाई हामीले सकारात्मक ढंगले पनि हेर्नुपर्ने हुन्छ । किनभने, आफ्नो देशका जातजातिहरु लोप भएमा, उनीहरुको इतिहास नामेट भएमा, जातीय मौलिकता वा स्वपहिचान, नासिएमा अमेरिका गएर भए पनि हेर्न, खोज्न, अध्ययन र अनुसन्धान गर्न त पाइने भो । तर, उस (अमेरिका)ले आफ्नो देशमा अहिले सुरु गरेको यो ‘विशाल संग्रह’मा अध्ययन र अनुसन्धान गरेवापत सलामी दस्तुर चाहिँ चर्कैसँग लिँदो हो ! किनभने जसरी पनि कमाउने, आफ्नो माल-वस्तु बेच्नका लागि र व्यापार कब्जा गर्ने उद्देश्यले अमेरिका विश्वका प्रायः सबै देशलाई कुनै न कुनै ढंगले प्रभावमा पारेकै छ । हुन पनि कतिपय अरु देशका रैथाने खाद्यान्न बाली, जडीबुटी, घाँस, वनस्पति लेउ, झ्याउ लगायत चिजबिचहरु अमेरिकालगायत अन्य विकशित देशहरुले उहिल्यै आफ्नो बनाएर पेटेन्ट राइट नै लिइसकेका छन् ।
यो लेखमा उल्लेख गर्न लागेको खास विषय चाहिँ के हो भने, आदिवासीहरुले विश्वमा जति पनि आफ्नो भाषा प्रयोग गर्ने गर्थे, बोल्ने गर्थे । ती भाषाहरुमध्ये अधिकांश मरिसके, लोप भइसके भने धेरै भाषाहरु मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । हो, त्यसरी विश्का विभिन्न देशका आदिवासीहरुले बोल्ने आफ्नो मातृभाषा मर्दा, लोप हुँदा के बिग्रियो त ? मूल प्रश्न यो हो । लगभग तीन वर्षअघि आएको एक अध्ययन प्रतिवेदनअनुसार विश्वभरिमा जति पनि मौखिक औषधीय ज्ञानहरु रहेको छ, ती सबै लोप हुँदैछन् । भनाइको मतलब विश्वभरि रहेको औषधीय ज्ञानकोष नष्ट हुने खतरा बढेको छ । के भनिन्छ भने, विश्वका विभिन्न भागमा पाइने लगभग १२ हजार ५ सय प्रकारका औषधीय नाममध्ये ७५ प्रतिशत औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम अझै पनि आदिवासीहरुको भाषामा रहेका छन् । हो, त्यसरी हेर्दाखेरि त साँच्चै एक दिन विश्वका विभिन्न देशका आदिवासीहरुले बोल्ने (प्रयोग गर्ने) भाषाहरु मरेमा के होला ? सबैले सहजै अनुमान सक्ने कुरो हो । अहिले नै पनि अधिकांश आदिवासीहरुका भाषा मरिसके, लोप भइसके भने धेरै भाषा मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । यसरी हेर्दा जति धेरै आदिवासीहरुका भाषामा मर्छ, लोप हुन्छ त्यति नै विश्वभर रहेका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम हराउने छ, लोप हुने छ ।
विज्ञ तथा खोज अनुसन्धानकर्ताहरुका अनुसार अहिले नै पनि वातावरणीय विनाशका कारणभन्दा पनि आदिवासीहरुका भाषा अथवा भनौं आदिवासीका शब्दहरु लोप हुनाले धेरैजसो औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरु लोप हुने सम्भावना बढी रहेको छ । पछिल्लोपटक अध्ययनकर्ताहरुले तीन हजार ५ सय ९८ प्रजातिका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरुको अध्ययन गरेर त्यसको विश्लेषण समेत गरेका थिए । अध्ययनको रोचक निचोड के रहेको छ भने, इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयुसीएन)ले संकलन एवं संरक्षण गरिरहेको र लोपोन्मुख (रेड लिस्ट) सूचीमा राखेको जति पनि औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरुको सूची छ, त्यसमा विश्वमा रहेको सम्पूर्ण लोपोन्मुख औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको लगभग पाँच प्रतिशत मात्रै रहेका छन् । हुन त अनेकौं कारणले विश्वका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरु छन्, तिनीहरु आफैँ पनि लोपोन्मुख अवस्थामा पुगेका छन् ।
अध्ययनकर्ताहरुले उत्तर अमेरिकी महादेशको केही भागमा बसोवास गर्ने आदिवासीको भाषामा रहेका औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा सबै वनस्पति, जडीबुटी र औषधिमा ८६ प्रतिशतसम्म त्यहाँका आदिवासीहरुको परम्परागत भाषा र ज्ञानको भाग अर्थात् अंश रहेको थियो ।
अध्ययनकर्ताहरुले उत्तर अमेरिकी महादेशको केही भागमा बसोवास गर्ने आदिवासीको भाषामा रहेका औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा सबै वनस्पति, जडीबुटी र औषधिमा ८६ प्रतिशतसम्म त्यहाँका आदिवासीहरुको परम्परागत भाषा र ज्ञानको भाग अर्थात् अंश रहेको थियो । तर, अचम्म अर्थात् ठीक उल्टो कुरो के भने अष्ट्रेलिया महादेश तथा प्रशान्त महासागर आसपासको टापु देश पपुवा न्युगिनीमा चाहिँ केवल ३१ प्रतिशत मात्रै त्यस्तो परम्परागत भाषा र ज्ञानको भाग रहेको पाइएको थियो । तर, पनि पपुवा न्युगिनीमा जुन ३१ प्रतिशत मात्रै मिलेको औषधीय गुण भएका वनस्पति र जडीबुटीहरु थिए, ती सबै पपुवा न्युगिनीमा रहेका लोपोन्मुख भाषासँग सम्बन्धित रहेको थियो । स्मरणीय के भने, भूगोलको आधारमा हेर्दा पपुवा न्युगिनी एक सानो टापु देश भए तापनि विश्वमै धेरै (८३९) भाषा बोल्ने गरिन्छ ।
खासमा धेरै मानिसहरुलाई थाहा छैन कि, सन् २०२२ देखि सन् २०३२ सम्म संयुक्त राष्ट्र संघले ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरिकन ‘विश्व आदिवासी भाषा दशक’ मनाइरहेको छ । यसमा पनि खास उद्देश्य चाहिँ विश्वका औषधीय गुण भएका वनस्पतिहरु र जडीबुटीको नाम एवं परम्परागत ज्ञान पनि आदिवासीहरुकै भाषामा रहेको हुनाले पनि अब विश्वका धनी र सम्पन्न देशहरुलाई सकेसम्म विश्वका सबै आदिवासीका भाषाहरु बचाउनुपर्ने बाध्यता आइलागेको छ । जसले गर्दाखेरि विभिन्न कार्यक्रम आयोजना गरेर विश्व जगतले ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक-२०२२/२०३२’ मनाइरहेको छ । यता हाम्रो देश नेपाल चाहिँ केही थाहा नपाएको-थाहा नभएको अभिनय गरिरहेको छ । हुन त नेपाल सरकार लगभग दुई वर्ष मौन रहेर लगभग दुई वर्षपछि २०८० सालको मंसिर ताका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत रहने गरी ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक राष्ट्रिय कार्य योजना मस्यौदा निर्माण उपसमिति गठन गरेको छ ।
माथिका सबै प्रसंगहरु पढेपछि, सुनेपछि तपाईंहरुलाई पनि लाग्यो होला कि, हामी आदिवासीको भाषा त हामी सबै मिलेर बचाउनु पर्ने रहेछ । होइन भनेदेखि त अरुको भाषा, अझ नेपालमा त हिजो-अस्तिसम्म पनि आदिवासी जनजातिले बोल्ने भाषालाई ‘मान्छे खाने भाषा’ भनिन्थ्यो । अहिले पनि कताकति त्यसो भन्नेहरु छन् नै । तर, आदिवासीहरुका भाषा लोप हुँदा, हराउँदा केवल हामी मानिसहरुलाई मात्रै संकट नआएर पृथ्वीमा रहेका सबै सजीव वस्त, जस्तै- पशुपंक्षी, चलभर, थलचर रुखबिरुवा अर्थात् सम्पूर्ण जीवन एवं जगतकै चक्रीय प्रणालीलाई असर पर्ने हुनाले तपाईं हामी सबै मिलेर आदिवासीका भाषाहरु बचाउनेतर्फ आजैदेखि लागौं भन्ने मेरो आग्रह रहेको छ ।