किरात समन्वय समितिको नेतृत्व हस्तान्तरण

किरात समन्वय समितिको नेतृत्व हस्तान्तरण

किरात समन्वय समितिको नेतृत्व हस्तान्तरण भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी समितिको अध्यक्ष सुनुवार सेवा समाजले किरात याक्थुङ चुम्लुङलाई नेतृत्व हस्तान्तरण गरेको हो ।

सुनुवार सेवा समाज संघीय समितिको कार्यालय, कोटेश्वरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष अमृतबहादुर सुनुवारले चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलाई नेतृत्व हस्तान्तरण गरे । चुम्लुङले आगामी तीन वर्षसम्म समितिको नेतृत्व गर्नेछ । सोही अवसरमा सदस्यसचिव किरात याक्खा छुम्माका महासचिव सोनाम याक्खाले आगामी कार्यकालका सदस्यसचिव किरात राई यायोक्खाका महासचिव भीम राईलाई समितिसँग सम्बन्धित कागजातहरु हस्तान्तरण गरेका थिए ।

समितिमा आवद्ध संस्थाहरुले हरेक तीन वर्षका लागि पालैपालो नेतृत्व लिने आन्तरिक प्रावधान छ । समितिको आन्तरिक व्यवस्थापनलाई थप चुस्त र कामकारबाहीलाई प्रभावकारी बनाउनेतर्फ सक्दो प्रयास गर्ने अध्यक्ष येक्तेनले बताए ।

समितिमा चुम्लुङ, यायोक्खा, छुम्मा र सुनुवार सेवा समाज संस्थापक सदस्यहरु हुन् । पछिल्लो समय किरातजन्य संस्थाहरु नेपाल थामी समाज, हायु समाज नेपाल, जिरेल संघ नेपाल र सुरेल जाति उत्थान समाज पनि समाजमा आवद्ध छन् । किरात समुदायको भाषा, संस्कार-संस्कृतिका क्षेत्रमा काम गर्नु समितिको उद्देश्य रहेको छ ।

सम्बन्धित खबर