मकालुको कारमाराङमा अस्थायी प्रहरी पोष्ट स्थापना
मकालु गाँउपालिका-४ स्थित कारमाराङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा शनिबार प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।
जनताको माग र सरोकारवालाको पहलमा स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्यूनीकरण गर्न अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरी पोष्ट उद्घाटन कार्यक्रम मकालु गाँउपालिका वडा नम्बर -४ का वडा अध्यक्ष बाल कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्रत्र अवसरमा मकालु गाँउपालिका उपाध्यक्ष मनकला राई, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गुल्म अरुण संखुवासभाका डीएसपी अमर लामा, अरुण तेस्रो जलविद्युत आयोजना सुरक्षा बेश फाक्सिन्दा दोभानका डीएसपी दिपक गुरुङ, इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाबाट इन्स्पेक्टर सागर श्रेष्ठलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरु उपस्थित थिए ।
अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको स्थान जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्दाजी २४ घण्टा र इलाका प्रहरी कार्यालय हेदाङनाबाट अन्दाजी ६ घण्टाको पैदल दुरीमा रहेको छ । उक्त स्थानमा तत्काल प्रहरी हवल्दार यामेश्वर धिमालको नेतृत्वमा ५ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका मिडिया समन्वय अधिकृत इन्स्पेक्टर अभिशेक कुमार श्रेष्टले जानकारी दिए ।