एकलजातीय राज्य अन्त्यका लागि आन्दोलन उठाउने तयारी
आगामी निर्वाचनमा साझा उम्मेदवार उठाउने घोषणा
पूर्वमन्त्री गोपाल किराती, नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा. मित्र परियारलगायत नेताहरु प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा आबद्ध भएका छन् । सोमबार उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् ।
पहिचानवादी शक्तिहरुलाई मोर्चावन्दी र एकत्रित गर्दै एकलजातीय राज्य अन्त्यका लागि आन्दोलन उठाउने तयारी भइरहेको पनि मोर्चाले जनाएको छ । उनीहरूले आगामी निर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरिएको घोषणासमेत गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले हालै निर्माण गरेको सरकारले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली हटाउने तथा प्रतिगमनकारी कदम चाल्ने प्रयास गरिरहेकाे भन्दै त्यस्तो दुस्साहस गरिए तेस्रो जनआन्दोलन सुरु गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
वर्तमान राज्यलाई एकल जातीय राज्य मानेकाे मोर्चाका नेताहरुले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि-स्टेट काण्ड, सहकारी काण्ड, सुन काण्ड आदि भ्रष्टाचारका काण्डहरुमा संलग्न व्यक्ति र तिनका नाइकेहरुलाई कडा कारबाही गर्न तथा बाढीपहिरो वा प्राकृतिक प्रकोपका पीडितहरुलाई तुरुन्त उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध पनि गरेका छन् । पहिचानवादी मोर्चा विस्तार कार्यक्रममा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान पुनर्लेखनबाट एकल जातीय राज्यको अन्त्य गरी बहुसांस्कृतिक, पूर्ण समानुपातिक र सहभागितामूलक समाजवादी लोकतान्त्रिक राज्य स्थापना गर्न सबै दलमा रहेका पहिचानवादी व्यक्ति र शक्तिहरुलाई एक भई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’
माेर्चाका संयाेजक प्रा.डा. लावतीसहित गोपाल किराती संयोजक तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परियार अध्यक्ष, काष्ट वाच नेटवर्क, कृष्ण चोङ्बाङ्, इन्चार्ज लिम्बु संघ (समाजवादी), नेकपा (ए. समाजवादी), बुद्धराज स्याङ्तान, अध्यक्ष संघीय ताम्सालिङ पार्टी, मोलम लामा, महासचिव राष्ट्रिय ट्रेड युनियन महासंघ, पासाङ् मोक्तान, संयोजक ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा, संयोजक खसान गणराज्य र खड्ग बहादुर श्रेष्ठ, संयोजक, नेवाः गणराज्य नौ वटा संगठनले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
विज्ञप्ति :