विश्व आदिवासी दिवसको तयारी, विभिन्न ६ निर्णय सार्वजनिक

विश्व आदिवासी दिवसको तयारी, विभिन्न ६ निर्णय सार्वजनिक

३०औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइन तयारी थालिएको छ । यस वर्ष पनि विगतमा जस्तै सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउने तयारी गरिएको नेपाल आदिवासी जनजाति महास‌ंघले जनाएको छ ।

अगस्ट ९ (साउन २५ गते) मनाइने दिवसको तयारीस्वरूप आबद्ध जातीय संघसंस्थाहरूसँग महासंघले छलफल गरेको छ । दिवस यस वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित मनाउन लागिएको छ । संयुक्त राष्ट्र संघले ‘Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact’ मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकी सहितको र्‍यालीको आयोजना गरी दिवस मनाइने महासंघले जनाएको छ । महासंघले आदिवासी दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन आ-आफ्नो जातीय संस्थामार्फत तय गरिएका कार्यक्रमहरूका बारेमा महासंघलाई जानकारी दिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले दिवसको नारा तय भइसकेको र मूल समारोहका दिन धेरैभन्दा धेरै सहभागिता जनाउनेगरी तयारी गर्न आग्रह गरे । सबैले आ-आफ्नो पहिचान झल्किने झाँकीसहित आउनका निम्ति समेत दिए ।

संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

महासंघका निर्णयहरू :

१. विभिन्न जातीय संगठनहरुले फरक फरक दिन आयोजना गर्ने कार्यक्रमहरुको विवरण साउन १४ गतेभित्र महासंघलाई उपलब्ध गराउने र त्यस आधारमा सबै कार्यक्रमहरुलाई समेटेर महासंघले पोस्टर प्रकाशन गर्ने । सबैले एक अर्काको कार्यक्रममा सक्रिय सहभागिता जनाउने ।

२. साउन २५ गते महासंघद्वारा आयोजित मूल समारोहमा ११ बजे भृकुटीमण्डपमा भेला भएर प्रज्ञा भवन कमलादीसम्म हुने झाँकी र्‍यालीमा सबै जातीय संस्थाले आ-आफ्नो ब्यानरमा आ-आफ्नो भेषभुषामा सांस्कृतिक बाजागाजासहित हजारौंको संख्यामा सहभागी हुने । त्यसमा प्लेकार्ड नारा बोक्ने ।

३. मूल समारोहको दिन हुने मौलिक खानपिन (Food Festival) को लागि स्टल राख्न चाहनेहरुले १८ गते भित्र उपाध्यक्ष श्रुति कुमाललाई सम्पर्क गर्ने ।

४. स्टेजमा प्रस्तुत गर्ने मौलिक सांस्कृतिक नृत्यको लागि २० गते भित्र सचिव यमुना छन्त्याल लाई सम्पर्क गर्ने ।

५. हामी आदिवासी बोलको गितमा कोरस नृत्य प्रस्तुत गर्ने कलाकार पठाउन १५ गतेभित्र वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीलाई सम्पर्क गर्ने ।

६. स्वयंसेवक उपलब्ध गराउने जातीय संस्थाहरुले साउन १८ गतेभित्र उपाध्यक्ष युवराज जिरेललाई सम्पर्क गर्ने ।

सम्बन्धित खबर