धिमे बाजा प्रशिक्षण सम्पन्न, सोचेभन्दा राम्रो उपलब्धि

धिमे बाजा प्रशिक्षण सम्पन्न, सोचेभन्दा राम्रो उपलब्धि

समापन कार्यक्रममा अतिथि तथा प्रशिक्षणका सहभागीहरू । (तस्बिर सौजन्य : सुजन बज्राचार्य)

खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषा प्रशिक्षण दिइएको छ । नेवार समुदायका महिलाहरूको संस्था नेवा मिसा दबु खाँदबारी नगर समितिले आयोजना गरेको तीन हप्ते प्रशिक्षण शनिबार समापन भएको छ ।

प्रशिक्षणमा १२ युवकसहित खाँदबारी आसपासका ६० जना युवा सहभागी थिए । सहभागीहरू १२ देखि २५ वर्ष उमेर समूहका हुन् । उनीहरूलाई धिमेबाजा लगायतका नेवारी संस्कार र संस्कृतिबारे प्रशिक्षण दिइएको कार्यक्रम संयोजक एवं नेवा देय दबुका जिल्ला सचिव जयन्द्र शाक्यले जानकारी दिए । उनका अनुसार सहभागीहरूलाई बिहान, दिउँसो, बेलुकी र साँझ गरी दैनिक चार चरणमा प्रशिक्षण दिइएको थियो ।

धिमे नेवार समुदायमा सर्वाधिक प्रचलित बाजा हो । यो बाजा नेवार समुदायले विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाउँछन् । नेवारी संस्कृतिमा हरेक कामको सुरुवात गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले नयाँ पुस्ताका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको आयोजकको भनाइ छ ।

प्रशिक्षण उपलब्धिमुलक

संयोजक शाक्यले प्रशिक्षण कार्यक्रम सोचेभन्दा पनि धेरै उपलब्धिमुलक भएको बताए । सहभागीहरूले तीन हप्ताको अवधिमा साह्रै राम्रो सिकाइ हासिल गरेको उनको भनाइ छ । ‘समापन कार्यक्रममा पनि सहभागीहरूले प्रस्तुति दिए । धिमे, बाँसुरी एकदमै राम्रोसँग बजाए । यही अवस्था रह्यो र सीप हस्तान्तरण हुँदै गयो भने संस्कृति जगेर्नामा उल्लेख्य टेवा पुग्ने विश्वास जागेको छ,’ संयोजक शाक्यले भने ।

सम्बन्धित खबर