आगामी २४ घण्टा अति भारी र धेरै भारी वर्षाको सम्भावना, संखुवासभासमेत ‘रेड जोन’मा
यो समय अति जोखिम हुने भएकाले प्रतिकार्यका लागि समेत तयार हुन आग्रह
आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लालाई ‘रेड जोन’ मा राख्दै रेड अलर्ट जारी गरेको हो । विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।
महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
रातिको समयमा झन् धेरै वर्षा हुने महाशाखाको अनुमान छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।