‘नुनपानी सन्धि’को २५० वर्ष : ‘निको नहुने घाउ’जसरी किन बल्झिरहन्छ ?
हरेक वर्ष साउन २२ गते लिम्बुवान पक्षधर नेता तथा अगुवाहरूद्वारा सन्धिको स्मरण
प्रदेश नं. १ पुन: नामांकन आन्दोलनको अगुवा संस्था किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले आज बिहानै सामाजिक सञ्जालमा पोष्ट गर्दै वि.सं. १८३१ को सन्धिको स्मरण गरे । उनले फेसबुकमा लेखेका छन्, ‘आज साउन २२ । लिम्बुवानको सार्वभौमिकता १८३१ को सन्धिबाट अन्त्य भएको दिन । एउटा पृथक राजनितिक महत्वको दिन ।’
गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पहिचानवादीहरूको तर्फबाट साझा उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले पनि तत्कालीन दुई राज्य गोर्खा र लिम्बुवानबीच भएको उक्त सन्धिबारेको लालमोहरसमेत फेसबुकमा पोष्ट गर्दै ‘नुनपानी सन्धि’बारे उल्लेख गरेका छन् । ‘गोरखाली र लिम्बुवानीबीच वि. सं १८३१ साउन २२ गते भएको नूनपानी सन्धि कसै-कसैले नबुझेर कागजको खोस्टोको संज्ञा दिएका छन् तर त्यसो होइन । तामामा लेखिएको सन्धिपत्र त्यही कारण ताम्रपत्र हो । जोकोही उक्त सक्कली ताम्रपत्र हेर्न चाहने महानुभावलाई सम्पर्क गरेमा देखाउन सकिन्छ। यो पत्रको रंग कागजको रंग होइन भनेर सहजै अनुमान गर्न सकिन्छ । उक्त नूनपानी सन्धि गर्दा ठुलो तामाको भाँडोभरी पानी राखेर तामाकै डाडु पन्युँले नून र पानी घोलिएको थियो र सन्धिपत्र तयार भइसकेपछि उक्त घोलिएको नूनपानी दुवै पक्षलाई डाडुले उघाएर हत्केलामा थापेर सुरुप्प सुरुप्प पिउन लगाउँदै यो नूनपानी जसरी बिलेर एक भयौं, त्यसैगरी हामी मिल्यौं । तामापत्रमा जेजे खाइन-पाइनको अधिकार उल्लेख गरेर गोर्खाली लिम्बुवानीलाई दिएको छ । त्यो खोसेमा नूनपानीको बाचाले र मानी-पुजी ल्याएको देवताले गोरखाली राजपाठ भष्म होस् भन्दै कसम खाएको भनी अहिलेसम्म बुढापाका भन्दै आएका छन्,’ थेगिमले भनेका छन् ।
पछिल्लो पुस्ताका पहिचानवादी राजनीतिकर्मी जेन्टल लावतीले पनि सामाजिक सञ्जालमार्फत गोर्खा-लिम्बुवान सन्धिको प्रसंग निकाल्दै कोसी प्रदेशको नाम लिम्बुवान हुनुपर्ने बताएका छन् ‘वि.सं.. १८३१ श्रावण २२ गतेसम्म लिम्बुवान देश नै थियो । १८३१ श्रावण २२ गतेको लालमोहर/नुनपानी सन्धिसँगै लिम्बुवान गोर्खा राज्यमा गाभियो । गोर्खा राज्य अहिले नेपाल देशको रुपमा मान्छौं । नेपाल संघीयतामा गएसँगै कुनै समय लिम्बुवान देश नै भए पनि हालको अवस्थामा लिम्बुवान प्रदेश हुनुपर्छ भन्ने माग उठ्दै आएको छ । कुनै समय लिम्बुवान देश नै भए पनि सन्धिअनुसार लिम्बुवान प्रदेश हुनु अनिवार्य छ । होइन भने लालमोहर सन्धि/नुनपानी सन्धि तोड्नुको बिकल्प छैन । जय लिम्बुवान,’ लिम्बुवान राज्य नै पुन:स्थापित गर्नेसम्मको चेतावनी उनले दिएका छन् ।
यस वर्ष मात्र होइन । हरेक वर्ष साउन २२ गते खासगरी लिम्बुवान पक्षधर नेता तथा अगुवाहरूले १८३१ सालको उक्त सन्धि स्मरण गर्ने गर्छन् । आफ्नो धारणा अभिव्यक्त गर्छन् । र, लिम्बुवानको पहिचान पुनःस्थापित हुनुपर्ने माग दोहोर्याउँछन् । संघर्ष र आवश्यक परे वलिदानीको लागि समेत तयार रहेको प्रतिवद्धता जाहेर गर्छन् । यसरी अढाई सय वर्ष अघिको सन्धि लिम्बुवान क्षेत्रमा किन ‘निको नहुने घाउ’जसरी बल्झिरहन्छ ?
‘भिखपत्र होइन’
लिम्बुवान र नेपालको राजनीतिक सम्बन्धमा साउन २२ गतेको दिनले ऐतिहासिक महत्त्व राख्ने लिम्बुवानी नेताहरू बताउँछन् । यही दिन एउटा सर्तसहितको सन्धिमार्फत भिखपत्र होइन लिम्बुवान राज्य नेपालमा समाहित भएको उनीहरूको तर्क छ । तर, कालान्तरमा उक्त सन्धिप्रति नेपाल सरकारले इमान्दारिता नदेखाएको उनीहरू दाबी गर्छन् । ‘लालमोहर गोर्खालीले दिएको भिखपत्र होइन । बरु युद्धको मैदानमा बगेको वीरहरूको रगतले लेखिएको सन्धिपत्र हो, त्यसैले यसमा लिम्बुवानले गर्व नै गर्नुपर्छ,’ लिम्बुवान पक्षधर नेताहरूको धारणा छ ।
लालमोहरको पूर्णपाठ:
स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि त्यादि बिबिध विरुदावली विराजमान मनोन्नत श्रीमन माहाराजाधिराज श्री श्री श्री महाराज पृथ्वीनारायण शाह बहादुर शमशेर जङ्ग देवानाम सदा समर विजयीनाम——————————————————————
स्वस्ति श्री आगे राजभारा सामर्थ श्री सुन राय, श्री कुम राय, श्री जुङ (फुङ) राय, अरु सबै गैह्र लिम्बू रायके पूर्ण मोहोरको पत्र यथोचित———————————————————
उप्रान्त… … मिल… … मिलन्तम् यहाको लागि ताहाँलाई कुशल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरू हिजु पनि पिछा बक्सेका हौ । तिम्रा मुलुक हाम्रा प्रतापले… … तिमी तुतु तुम्याङ याकहाङ्ग सन्तान हौ । आज त्यो मुलुक हाम्रा भयो तापनि तिमीहरू हाम्रै छौ । तिम्रा जाहनका पिछा हामीले लियौं । जजसको जे जे तिम्रा खाइन पाइन र लुङवाङगड सिङवाङगड असुद्धलाई सब खत बात सभा शुद्ध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौं । तिमीहरू हाम्रा भारदारसँग सामेल रहौ र मद्दत सघाई हिजु आपै आप आपुङगी बसी आये बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तानतक भोग्य गर । अरु नौलाख के पटि होइन के अर्थले हो भन्या अरु राजा मासिने हुँदा तिमीहरू राजा नै भन्ने नमासिने हौ । यो तिमीहरूको नीति हामीले जानेको छ । तर कुराको बिस्तार तिम्रा नाभीमा बसेकोले तिनले गर्यो । सुखिमको र हाम्रो घर नभायाको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयाको छ । उनबाट कुराको बिस्तार बुझौला । मिली तिमीहरू आप आपुङगी खाइन पाइन माथि लेखे बमोजिम जिमी भूमि जानी चलन गरी खानू । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिन्ये लिम्बू कुल भाइलाई दियौं ।
इति सम्वत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ बार मुकाम कान्तिपूर राजधानी शुभाय शुभम् ।
लालमोहरको निष्कर्ष
भगिराज इङ्नाम र शेरबहादुर इङ्नामद्वारा लिखित ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’मा लालमोहरको निष्कर्ष निकाल्दै सन्धिले दस लिम्बु राय राजाबीच फुट गराउन सफल भएको उल्लेख छ । ‘लालमोहरको सक्कल प्रति नभए तापनि, तिथिमितिमा एकरूपता नभए तापनि, भाषामा केही फरक भए तापनि लिम्बुवान र गोर्खा (नेपाल) बीच १८३१ साल साउनमा लालमोहर सन्धि भएको इतिहास साक्षी छ । खुलेर भन्नुपर्दछ, यो सन्धि लिम्बुवान स्थापनाको महत्त्वपूर्ण आधार हो,’ पुस्तकमा भनिएको छ ।
लालमोहरको निष्कर्षबारे भनिएको छ,
(१) ‘फुटाऊ र राज गर’ भन्ने उक्तिलाई चरितार्थ गर्दै दस लिम्बु राय राजाबीच फुट गराउन सफल भएको ।
(२) तुतु तुम्याङ याकहाङ भन्ने लिम्बु भाषा लालमोहरमा परेकोले सरकारी स्तरमा प्रथमपल्ट लिम्बु भाषाले मान्यता पाएको ।
(३) अरु नौ लाख के पटी होइन भन्ने वाक्य परेकोले राई र लिम्बुलाई फुटाएको ।
४) जिमीभूमि रहेसम्म लिम्बुहरूले जग्गा-जमिन भोग गरी खान पाउने ।
(५) खाईपाई आएको शाहवंशले खोसे-मासेमा पुजिल्याएको देवताले राजकाज भङ्ग गरोस् भनी कसम खाई तसल्ली लालमोहर प्रदान गरिएको ।
(६) लिम्बुहरूलाई नमासिने जातीमा राखिएको ।
७) लिम्बु रायहरूले परम्परागत रूपमा खाईपाई आएको जग्गा-जमिन नखोसिने प्रतिज्ञा गरेको ।
के हो नुनपानी सन्धि ?
वि.सं. १८३१ साउन २२ गते गोर्खा राज्य र लिम्बुवानबीच भएको सन्धिलाई नै नुनपानी सन्धि भनिन्छ । खासमा नुनपानी घोलेर नै सन्धि गरिएको र नुनपानी घोलिएजसरी घोलिएर आपसमा मिलेको भन्ने अर्थमा पनि यस सन्धिको व्याख्या भएको छ । ‘सन्धि हुने भएपछि एक ठूलो भाँडोमा पानी राखियो र त्यसमा एक पाथी नुन राखियो । र, नुन पानीमा घोलियो । लिम्बुवान पक्षले गोर्खालीहरूलाई घोलिएको पानीबाट नुन निकाल्न लगाए । गोर्खालीहरूले- ‘नुन पग्लेर पानी बन्यो । अब नुन निकाल्न सम्भव छैन’ भने ।
अब नुन पग्लियो । नुन पानीमा देखिन्न । सिर्फ पानी मात्र देखिन्छ । पानीबाट नुन निकाल्न असम्भव भए पनि त्यो पानी पहिलाको जस्तो रहेन । पानीको स्वाद बदलियो । तिमी गोर्खाहरू पानीजस्ता हौ र हामीहरू नुनजस्ता हौँ । तिमी गोर्खाले हामीहरूलाई तिमीहरूमा मिसिन भन्यौ । हामी सर्तसहित मिसिन तयार भयौँ । तर, हामी मिसिँदा तिमीहरू पनि पूर्ववत् पानीजस्तै सिर्फ पानी मात्र रहेनौ । गोर्खा राज्य तर्फका प्रतिनिधिहरू सपथ लिन मन्जुर गरे ।
उनीहरूले एक-एक अञ्जुलि नुनपानी लिएर ‘तिमीहरूको लिम्बुवानको पुर्ख्यौली भूमि जफत गरेमा र तिमीहरूको अहित चिताउने काम गरेमा, यदि तिमीहरूलाई नस्ट गरी अहित चिताउने, धोका दिएमा गोर्खा राजा र तिनका उत्तराधिकारीहरू जुन ईश्वरको निर्भरमा छन्, उनै ईश्वरले तिनीहरूको राज्य पनि भंग गर्ने छ’ भनी सपथ लिए । लिम्बुवानको तर्फबाट पनि नुनपानी अञ्जुलिमा लिएर ‘लिम्बुवान र गोर्खा (नेपाल) बीचको लालमोहर सन्धि उल्लंघन नभएसम्म तिमीहरूको राजाको विरुद्धमा जाँदैनौँ’ भनेर सपथ लिए । यो सपथ लिएपछि लिखित लालमोहर लिम्बुवान पक्षलाई गोर्खालीहरूले हस्तान्तरण गरे । यही प्रक्रिया नै ‘नुनपानीको सन्धि’ भनी इतिहासमा उल्लेख भएको छ ।
हस्ताक्षरकर्ता र समर्थनकर्ता
लालमोहर सन्धिमा गोर्खा राज्यको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भन्डारी, किर्तसिंह खवास र बलि बानियाले हस्ताक्षर गरेका छन् । लिम्बुवानको तर्फबाट चौबिसेका श्री सुन राय, पान्थरका श्री कुम राय र आठराईका श्री जङ रायले हस्ताक्षर गरेका छन् । लालमोहर सन्धिलाई लिम्बुवान फेदापका श्री आतहाङ राय, मैवाखोलाका श्री देव राय, मेवाखोलाका श्री रैनसिंह राय र तम्बरखोलाका श्री शुभवन्त रायले पछि समर्थन गरेका थिए ।
सन्धिको विपक्षमा उभिँदै चैनपुरका श्री जसमुखी बनेम्बा फागो राय, छथरका श्री सुनुहाङ खेवा राय, चारखोलाका श्री आशदेव लिङ्दम राय, याङवरकका हिलिहाङ रायले गोर्खाली विरुद्ध युद्धको घोषणा गरे । इतिहासकारहरूका अनुसार सन्धिपछि स्वेच्छाले गोर्खामा सामेल हुनेहरू पहिलो पटक, फेदापका आतहाङ राय, मेवाखोलाका श्रीदेउ राय, मैवाखोलाका रैनसिंह राय र तमरखोलाका शुभवन्त राय हुन् । पान्थर उत्तरका थेगिमहाङ, नेम्बाङहाङ र पापोहाङहरू हुन् । लालमोहर सन्धिको विपक्षमा उभिएर गोर्खाविरुद्ध पछिसम्म लड्नेहरू विजयपुरका बुद्धिकर्ण राय खेबाङ लिम्बु, याङवरकका हिलिहाङ यङहाङ, छत्थरका सुनहाङ राय र चारखलका आशदेउ राय दोस्रो पटक गोर्खा राज्यमा समाहित भएका थिए ।
सन्धिले विवाद
सन्धि हुँदा लिम्बुवानभित्र दुई पक्ष देखिए । सन्धिको विपक्षमा उभिएकाहरूले लिम्बुवान गोर्खा राज्यमा गाभिएकाले लिम्बुवानको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता गुमेको अर्थमा लिए । त्यस्तै, लालमोहर सन्धिको पक्षमा उभिएकाहरूले लिम्बुवानसँग थुप्रै पल्ट युद्ध भए तापनि हारजित हुन नसकेपछि कुटनैतिक पहलमार्फत स्वायत्तता अर्थात् सेन राजाहरूबाट लिम्बुवानले पाइआएको अधिकार र विशेषाधिकारहरूको यथावत् कायम रहने गरी लालमोहर सन्धि भएको हो भन्ने अर्थमा लिए ।
लालमोहरको सक्कल प्रति हालसम्म उपलब्ध हुन सकेको छैन । त्यो लालमोहर सारेर राखिएको अवस्थामा संकलन गरिएको देखिन्छ । धेरै लिम्बूहरूसँग नक्कल पाइन्छ तर स्रोत उल्लेख छैन । सन्धि भएको ५० वर्ष नपुग्दै पृथ्वीनारायणका सन्तानले उक्त दस्तावेज फिर्ता गर्न अर्को लालमोहर जारी गरेको हुनाले सक्कल प्रति गोर्खाली सत्ताले फिर्ता लगेको हुनसक्ने इतिहासकारहरूको अनुमान छ ।
सन्दर्भ सामग्री :
ईङ्नाम, भगिराज (२०७७). लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०). काठमाडौंः अजित इङनाम/शान्तकला मुदेनसङ साँवा ।
चेम्जोङ, इमानसिंह (२०५९). किरात इतिहास. काठमाडौंः किरात याक्थुङ चुम्लुङ ।
लिङ्देन, कुमार (२०६३). विसं १८३१ को लालमोहर र लिम्बुवान. लिम्बुवानः ज्ञानुहाङ/सिंहवीर थाम्सुहाङ ।
दिक्पाल, राजकुमार (२०७६). आदिवासी विद्रोहको इतिहास. काठमाडौँः मन्जरी पब्लिेकेशन ।
तिगेला, कमल (२०७४). लालमोहर सन्धि र लिम्बुवान आन्दोलनः संक्षिप्त चर्चा. लाइक जर्नल, वर्ष १० (६) २०७४ माघ. धरान (लिम्बुवान): सिरिजङगा अनुसन्धान केन्द्र ।
माबुहाङ, अर्जुन र भरत तुङ्घङ (२०७०). हज्शन पाण्डुलिपिमा गोर्खा-खम्बुवान-लिम्बुवान युद्ध. धरानः विश्व याक्थुङ मुन्धुम समाज ।