आज विश्व आदिवासी दिवस मनाइँदै, के-के छन् काठमाडौंमा कार्यक्रम ?
विश्व आदिवासी दिवसको अवसरमा सन् २०११ मा संखुवासभाको मादीमूलखर्कमा आयोजित कार्यक्रम ।
आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अनुसार यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित दिवस मनाइँदैछ ।
यस वर्ष संयुक्त राष्ट्रसंघले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । सोही सन्दर्भमा नेपालका आदिवासी जनजाति समुदायहरूले आज नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्ग देखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिको भव्य प्रस्तुतिलाई प्रतिविम्ब गर्ने तयारी गरेका छन् ।
झाँकीसहितको र्याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ । नगर परिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोह सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, महासंघ पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षलगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ ।
३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रज्ञा भवनको पछाडि रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरू प्रदर्शनी (फुड फेस्टिभल) तथा विक्री वितरण स्टल पनि राखिने आयोजकले जानकारी दिएको छ । दिवसको अवसरमा नेफिनसँग आबद्ध विभिन्न जातीय संस्था र सम्बन्धन संगठनद्वारा सप्ताहव्यापी विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवर्द्धन गर्नु हो ।