किरात याक्खा छुम्मा युकेको वार्षिक भेला स्थगित
सन् २०१८ को वार्षिक भेला । (तस्बिर श्रोत : छुम्मा युकेको फेसबुक।)
किरात याक्खा छुम्मा युकेको बार्षिक भेला स्थगित भएको छ । शनिबार (अगस्ट १०) हुने भनिएको भेला अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छुम्मा युकेका महासचिव नेत्र लिम्बुखिमले जानकारी दिए ।
महासचिव लिम्बुखिमका अनुसार हाल युकेमा शान्ति सुरक्षाको अवस्था प्रतिकुल भएकाले पूर्वनिर्धारित कार्यक्रम रोक्नु परेको हो । ‘यहाँ युकेको अहिलेको अप्रत्याशित अवस्थाका कारण अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गरेका हौं,’ याक्सिगुमखबरसँग कुरा गर्दै महासचिव लिम्बुखिमले भने । परिस्थिति अनुकुल भएका अक्टोबरतिर कार्यक्रम हुनसक्ने उनको भनाइ छ ।
युकेका विभिन्न स्थानमा रहेका याक्खाहरु भेटघाट हुने वार्षिक भेलामा औपचारिक कार्यक्रमसमेत हुनेगर्छ । सो अवसरमा छुम्मा युकेले याक्खा जातिको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गर्ने गर्दछ ।
युकेमा केही दिनअघि भड्किएको दंगा अझै साम्य भइसकेको छैन । बेलायतको साउपोर्टमा छुरा प्रहारबाट तीन बालिकाको ज्यान जानेगरी आक्रमण भएपछि भड्किएको दंगाले हिंसात्मक रुप लिएको थियो । आप्रवासीलक्षित सो दंगामा प्रहरीसहित दर्जनौं घाइते भएका छन् भने सयौंलाई पक्राउ गरिएको छ । लण्डनस्थित नेपाली दूतावासले दंगाग्रस्त क्षेत्रमा नजान त्यहाँ रहेका नेपालीहरुलाई अपील गरेको छ ।