तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर सञ्चालन
खाँदबारी नगरपालिकाले तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर सञ्चालन गरेको छ । सूचना केन्द्र तथा कोसेली घरबाट जिल्लाका बारेमा सूचना र जिल्लाका स्थानीय उत्पादनहरु उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।
हवाई मार्गबाट जिल्ला प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सहजताका लागि सूचना केन्द्र र कोसेली घर सञ्चालनमा ल्याएको मेयर महेश थपलियाले बताए । ‘सूचना केन्द्र तथा कोसेली घरमा जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूका तस्बिर र रूट सहितको जानकारी, सांस्कृतिक तथा जातीय पहिचान झल्किने विभिन्न सामग्री उपलब्ध हुनेछन्,’ मेयर थपलियाले भने, ‘यसका साथै रूद्राक्ष र अल्लोका विभिन्न सामान, राडीपाखी, माटाका भाँडाहरु लगायत जिल्लाका स्थानीय उत्पादनहरू सुलभ मूल्यमा उपलब्ध गराउने हाम्रो लक्ष्य छ ।’
सूचना केन्द्र तथा कोसेली घर सञ्चालनको जिम्मेवारी मिस यु रिसोर्ट पार्कका सञ्चालक सञ्जय देवानलाई चालू आर्थिक वर्षभरका लागि दिइएको छ । मिस यु पार्कका सञ्चालक देवानले खाँदबारी नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । जिल्लाको पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।
जिल्लाको एकमात्र यस विमानस्थल पहाडी तथा हिमाली जिल्लाकै व्यस्तमध्ये पर्छ । विमानस्थलमा बुद्ध एयरलाइन्सको ७२ सिट क्षमताको जहाजले समेत दैनिक उडान भर्दै आएको छ । सीमावर्ती क्षेत्रमा अवस्थित यस विमानस्थल भोजपुरको उत्तर-पूर्वी क्षेत्रका बासिन्दाका लागि पनि हवाई यात्राको मार्ग हो ।