पाँचखपन नगरपालिकाका दुई स्थानमा प्रहरी युनिट स्थापना

पाँचखपन नगरपालिकाका दुई स्थानमा प्रहरी युनिट स्थापना

अस्थायी प्रहरी पोष्ट भर्तीवालडाँडाको उद्घाटन कार्यक्रम ।

ग्रामिण भेगमा अपराध न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरी युनिट थप गरेको छ । यसै साता पाँचखपन नगरपालिकाको दुई स्थानमा प्रहरी युनिट स्थापना गरिएको हो ।

पाँचखपन नगरपालिका-९ स्थित मलबाँसेमा बुधबार प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्ट भर्तीवालडाँडा स्थापना गरिएको छ । इलाका प्रहरी कार्यालय वानाबाट अन्दाजी २ घण्टा ३० मिनेट पैदल दुरीमा रहेको उक्त पोष्टमा तत्कालका लागि प्रहरी हवल्दार बलबहादुर भुजेलको नेतृत्वमा ५ जनाको टोली खटाइएको छ ।

यसअघि गत सोमबार पाँचखपन नगरपालिका-३ सिभुवा गौरीगाँउमा प्रहरी बिट स्थापना गरिएको छ । उक्त स्थानमा स्थानीय लाख बहादुर राईले प्रहरीको लागि ९ सय १० वर्गमिटर जग्गा २०७६ सालमा निशुल्क प्रदान गरेका थिए । कोशी प्रदेश सरकारबाट बिनियोजित बजेटबाट २ कोठे भवनसमेत निर्माण सम्पन्न भइसकेको थियो । जिल्लाको  मौजूदा जनशक्तिबाटै व्यवस्थापन गरी सञ्चालन गरिएको उक्त प्रहरी बिटमा हाल प्रहरी हवल्दार चुडा बहादुर थापाको नेतृत्वमा ५ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी बिट र अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठ, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरू उपस्थित थिए ।

प्रहरी बिट सिभुवाको उद्घाटन कार्यक्रम । (तस्बिरहरू: जिप्रका,संखुवासभाको फेसबुक।)

सम्बन्धित खबर