पहिचान सहितको प्रदेश नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समिति बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । सोही निष्कर्षअनुसार बैठकले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरेको पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए । समितिको सदस्यहरुमा कोसी प्रदेश अध्यक्ष याक्खासहित पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा. के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन र कुन्ता राई रहेका छन् ।
समितिले कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी अगाडि बढ्ने बताइएको छ । जसपा नेपालको केन्द्रीय समिति बैठक यही साउन २७ देखि ३० गतेसम्म ललितपुरको सानागाउँमा बसेको थियो ।