चुम्लुङको स्थापना दिवस मुक्कुम्लुङ संरक्षण र प्रदेश नामांकनमा केन्द्रित

विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै पुरस्कार तथा सम्मान वितरण

चुम्लुङको स्थापना दिवस मुक्कुम्लुङ संरक्षण र प्रदेश नामांकनमा केन्द्रित

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले ३६औं स्थापना दिवस मनाएको छ । ललितपुरस्थित चुम्लुङहिममा सोमबार सम्पन्न सप्ताहव्यापी कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।

सांस्कृतिक र औपचारिक कार्यक्रमहरू साविकझैं भए पनि चुम्लुङले यस वर्षको स्थापना दिवस मुक्कुम्लुङ संरक्षण र प्रदेश नामांकनमा केन्द्रित गरेको  थियो । वक्ता, विमर्श र केही मुख्य कार्यक्रममा कोसी नाम खारेजी र पुनः नामांकन तथा मुक्कुम्लुङमा केबलकार खारेजीले प्रमुखता पाएको थियो ।

पहिलो दिन छैटौं मुन्धुम स्वर्णिम साँझ आयोजना गरिएको थियो । त्यस्तै लिम्बू भाषाको गीतसंगीत क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्रष्टाहरु भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कार हस्तान्तरण गरेका थिए । मुन्धुम स्वर्णिम साँझमा येवालाङ, केलाङ, यालाङ, हाक्पारे पेन्युक साम्लो, तुवा पेन्युक साम्लोजस्ता लिम्बू जातिका मौलिक गीतसंगीतहरु कलाकारहरुले प्रस्तुत गरेका थिए ।

दोश्रो दिन भने प्रदेश १ पुनः नामांकन तथा मुक्कुम्लुङ संरक्षणको विषयमा विचार विमर्शसहित चियापान कार्यक्रम भएको थियो । यसका साथै लिम्बू थरगत संस्थाबीच विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदान गरिएको थियो । तेश्रो दिन ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा ‘नो केवलकार प्रदर्शनी’ सम्पन्न भएको थियो । आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चुम्लुङका विभिन्न समितिका साथै भारत, युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसियालगायत खाडी मुलुकहरुमा रहेको चुम्लुङका प्रवास समितिका पदाधिकारीहरूले आपसमा स्थापना दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

मूल समारोहका दिन सोमबार विभिन्न पुरस्कार वितरण कार्यक्रम तथा के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्यालीजस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको चुम्लुङले जनाएको छ । यस अवसरमा उपस्थित विभिन्न जातजातिका संस्था तथा संगठन प्रमुख/प्रतिनिधिहरूले चुम्लुङले भाषा, संस्कृति र पहिचानका क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

स्थापना दिवस चुम्लुङको प्रदेश, जिल्ला तथा स्थानीय पालिका समितिका साथै प्रवासमा समेत मनाइएको थियो । चुम्लुङले दिवसको लागि ‘लिम्बुवान स्थापना हाम्रो प्रतिबद्धता, मुक्कुम्लुङ पवित्र स्थलमा केवलकार निर्माण खारेज गर, कोशी नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश १ को नाम कायम गर’ नारा तय गरेको थियो ।

(तस्बिरहरू : प्रेम येक्तेनको फेसबुक)

सम्बन्धित खबर