केबलकारको लाइसेन्स खारेज नगरेसम्म ‘मुक्कुम्लुङ छोड’ आन्दोलन
विभिन्न ७ वटा संगठनले ‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा गरेका छन् । गत आइतबार विज्ञप्ति जारी गर्दै ति संगठनले मुक्कुम्लुङ छोड्न केबलकार निर्माण कम्पनीलाई दिएको सात दिने अल्टिमेटम अब केही दिन मात्र बाँकी छ ।
‘मुक्कुम्लुङ अतिक्रमण हुन नदिन र केबलकार निर्माणका गतिविधिहरूका सम्बन्धमा यही २०८१/२/५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरुको परामर्श र छलफलबाट सहमति नभई निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौतालाई उल्लंघन गरेर सरकारी र व्यापारिक समूहबाट बलमिच्याईं गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी लगाएर न्यायका लागि लड्नेहरूलाई जबरजस्ती पक्रेर हिरासतमा राखी पवित्र आस्थाको स्थलमा केबलकार बनाउन दलबलसहित गएको हुँदा सरकारले केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
केबलकार कम्पनीले अल्टिमेटमबमोजिम नगरे/नभएमा केबलकार पक्ष र सरकार मुन्धुमीस्थललाई समाप्त गर्ने गरी असहिष्णु भएको ठहर हुने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०८१ भदौ २४ गतेदेखि केवलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुइलिङ बजारदेखि काफ्लेपाटीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने समेतको आन्दोलनको खाका अगाडि घोषणा गरेको छ । भक्तजनलाई समेत अग्रिम जानकारी दिँदै न्यायको लडाइँमा सहयोग गर्न यो अवधिमा मुक्कुम्लुङको दार्शन नगर्न नगराउन सम्बन्धित सबैलाई आव्हान गर्दछौं ।’
ताप्लेजुङ जिल्लामा अवस्थित मुक्कुम्लुङलाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको, त्यहाँ केवलकार बनाउन मुक्कुम्लुङ क्षेत्रमा डकैत शैलीमा आधारातमा मुन्धुमी बोटविरुवा, बहुमूल्य जडिबुटीजन्य वनस्पतिलगायत लाखौं राष्ट्रिय फूल लालिगुराँस काटेको उल्लेख गर्दै आन्दोलन घोषणा गर्ने पक्षले आफूहरू विगत ६ वर्षदेखि नै आन्दोलनरत रहेको विज्ञप्तिमार्फत अवगत गराएको छ ।
आन्दोलनमा प्रसाद लिम्बु संयोजक रहेको मुस्कुम्लुङ संरक्षण संयुक्त सघर्ष समिति, खगेन्द्र फेम्बू, संयोजक रहेको पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बु बरगत संस्था (याक्युड सयङ) सहजीकरण समूह, प्रेम एक्तेन, संयोजक रहेको प्रदेश नम्बर १ प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नम्बर १ प्रदेश पुनः मनोनयन अभियान समिति र सरस्वती सिंहक (सरु), प्रतिनिधि, मुस्कुम्लुङ तनहाप चुम्बी समूह क्रियाशील छन् ।
विज्ञप्ति :