उर्जामन्त्री खड्कालाई नेपाली का‌ग्रेस संखुवासभाले बुझायो ज्ञापनपत्र

जिल्लाको जलस्रोतलाई अत्यधिक उपयोग गरी यस क्षेत्रको विकासमा लाग्न अनुरोध

उर्जामन्त्री खड्कालाई नेपाली का‌ग्रेस संखुवासभाले बुझायो ज्ञापनपत्र

नेपाली कांग्रेस संखुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार खाँदबारीमा आयोजित १११औं बीपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा ज्ञापनपत्र बुझाइएको हो । मन्त्री खड्कालाई कांग्रेस जिल्ला कार्यसमिति र जिल्लास्तरीय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले सम्मानसमेत गरेका थिए ।

सो अवसरमा मन्त्री खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताए । यसका लागि जिल्लाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले जनतामैत्री सेवा प्रवाहमा केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘जनताले हाम्रा कामको मूल्यांकन गरिरहनुभएको छ, तसर्थ उहाँहरूको सहजता र सुविधाका लागि काम गर्नुहोस् ।’

दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका क्षेत्रमा काम गर्ने उनले दाबी गरे । ‘देशको  आवश्यकताअनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेर सरकार बनेको छ, यो सरकारले नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनलगायत क्षेत्रमा काम गर्नेछ,’ उनले भने । मन्त्री खड्काले नयाँ सरकार गठनपछि मुलुकको आर्थिक, पर्यटकीय गतिविधिमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पूरा गर्न सरकार लागेको बताए । उनले संखुवासभामा मात्र झण्डै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए । ऊर्जामन्त्री खड्काले आगामी दुई वर्षभित्र संखुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताए ।

कार्यक्रममा कांग्रेस संखुवासभाका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले पनि मनतव्य राखेका थिए । कार्यवाहक सभापति अनन्तकुमार गौलीले ऊर्जा, जलस्रोत र सिँचाइमार्फत देशको विकासमा लाग्नुपर्ने बताए । पूर्वसभापति दीपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बीपी कोइरालाको ठुलो योगदान रहेको स्मरण गरे । पूर्वसभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताए ।

उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधि निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दीपककुमार लिम्बू लगायतले जिल्लाको जलस्रोतलाई अत्यधिक उपयोग गरी यस क्षेत्रको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गरेका थिए ।

सम्बन्धित खबर