संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकारसम्बन्धी छलफल
संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकारसम्बन्धी छलफल सम्पन्न भएको छ । मंगलबार ‘संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकारसम्बन्धी आदिवासी सभा’ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ र आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम ललितपुरस्थित किरात याक्थुङ चुम्लुङकाे संघीय कार्यालयमा भएको थियो । कार्यक्रममा अधिवक्ता शंकर लिम्बुद्वारा प्रस्तुत कार्यपत्रमा दर्जनौ आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि तथा अभियन्ताहरुले आ-आफ्नो धारणासहित सुझावहरु दिएका थिए । महासंघले उक्त विचारहरुलाई दस्तावेजीकरण गरी आगामी दिनहरुमा संविधानबारे बहसलाई थप अगाडि बढाउने कार्ययोजना बनाइएको नेफिन महासचिव दिवस राईले जानकारी दिए ।
कार्यक्रममा महासंघका संस्थापक महासचिव तथा राष्ट्रियसभा सदस्य सुरेश आले मगरलगायत विभिन्न जातीय घटक संस्थाहरु, सम्बन्धन संगठनहरु र भुमि, सम्पदा अधिकार आन्दोलनका अभियन्ताहरु सहभागी थिए ।