शिक्षा दिवसमा संखुवासभाका २ जना पुरस्कृत
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभूषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले शिक्षा दिवस २०८१ का अवसरमा सार्वजनिक गरेको सूचीमा संखुवासभाका दुईजना परेका छन् ।
सार्वजनिक विद्यालय शिक्षकतर्फ वाना माध्यमिक विद्यालय, वाना, पाँचखपन-६ का प्रधानाध्यापक गोविन्दबहादुर श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, बागमतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दैछन् । निजी विद्यालयतर्फ सबै प्रदेशका गरी ३२ जनालाई यो विधाको पुरस्कार दिइँदैछ ।
विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ता/शिक्षकतर्फ पनि संखुवासभाबाट एकजनाले पुरस्कार पाउने भएका छन् । यसतर्फ हिमालय माध्यमिक विद्यालय, आङला, खाँदबारी नगरपालिका-११ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर गुरूङ पुरस्कृत हुने भएका हुन् । प्रत्येक प्रदेशका पाँचजनाका दरले ३५ जनाको नाम यही विधामा पुरस्कृत हुने सूचीमा उल्लेख छ ।
मन्त्रालयले यस वर्ष सामुदायिक प्राविधिक क्याम्पसतर्फ कास्की, ललितपुर र काठमाडौंका तीनवटा शिक्षण संस्थाले उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी दुई लाख ५० हजार रुपैयाँ छ । माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका आधारमा सार्वजनिक विद्यालयतर्फ दाङका दुई र काठमाडौंको एउटाले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदै छन् । यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । निजी लगानीतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा तीनवटै काठमाडौंका विद्यालय छन् । यसको राशी भने तीनलाख रुपैयाँ रहेको छ ।
प्राविधिक शिक्षालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काभ्रे, दाङ, कपिलवस्तु र काठमाडौंको एक/एक शिक्षालय छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । यस्तै, समाज कल्याण शिक्षा पुरस्कार पाउनेमा काठमाडौं र ललितपुरका एक/एक संस्था छन् । यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ । व्यक्तितर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न क्याम्पसका २५ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइँदैछ । प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारीतर्फ यही विधाको पुरस्कार अछाम, लमजुङ, डोटी र चितवनका पाँचजनाले प्राप्त गर्दै छन् ।
उच्च शिक्षातर्फ विद्याभूषण ‘क’ ३ सय ६४ जना व्यक्तिले प्राप्त गर्दैछन् । विद्याभूषण ‘ख’ ३५ र ‘ग’ २१ जनाले प्राप्त गर्दै छन् । नेपाल छात्रापदक भने यस वर्ष १५ जनाले प्राप्त गर्ने मन्त्रालयको सूचीमा उल्लेख छ ।
राष्ट्रिय शिक्षा दिवस २०७६ एवं राष्ट्रिय शिक्षा दिवस २०८० मा पुरस्कारको घोषणा भई प्रमाणपत्र/प्रशंसापत्र पाउन बाँकी महानुभावहरूको प्रमाणपत्र/प्रशंसापत्रमध्ये विश्वविद्यालय अन्तर्गतका शिक्षक र कर्मचारीहरूको हकमा विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीको हकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र सार्वजनिक तथा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी, विव्यस पदाधिकारी र वालविकास शिक्षकको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत पुरस्कार वितरण गरिने भएको छ ।