पर्यटन प्रवर्द्धन गर्न ‘खाँदबारी रन’ आयोजना हुँदै

पर्यटन प्रवर्द्धन गर्न ‘खाँदबारी रन’ आयोजना हुँदै

फाइल तस्बिर ।

खाँदबारी युथ क्लबले पर्यटन प्रवर्द्धनको उद्देश्यसहित यस वर्ष पनि ‘खाँदबारी रन’ आयोजना गर्ने भएको छ । प्रतियोगिता यही असोज १७ गते (घटस्थापनाको दिन) बिहान ७ बजे खाँदबारी टुँडिखेलमा आयोजना हुनेछ ।

विभागीय, खुला पुरुष र खुला महिला गरी तीन विधामा प्रतियोगिता सञ्चालन हुने क्लबका महासचिव सुरेन शाक्यले  जानकारी दिए । उनका अनुसार विभागीय, खुला पुरूष र खुला महिला विधाका सहभागीका लागि क्रमशः १२, १० र ८ किलोमिटर दुरी तय गरिएको छ । सहभागीको उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने सर्त राखिएको छ ।

तीनै विधाका पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीले नगद १०, ७ र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता टुँडिखेल हुँदै मानेभञ्ज्याङ-अरूणथानको रूटमा सञ्चालन गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताको अवसरमा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगताहरूमा सहभागिता जनाइसकेका भोजपुर र संखुवासभाका म्याराथुन खेलाडीहरूलाई सम्मानसमेत गरिने क्लबका महासचिव शाक्यले बताए । ‘गत वर्ष पनि हामीले सम्मान गरेका हौ‌ं । यस वर्ष पनि निरन्तरता दिने निर्णय भएको छ । खेलाडी प्रतिभाहरूको खोजी भइरहेको छ,’ उनले याक्सिगुमखबरसँग भने ।

क्लबले २०६१ सालदेखि प्रतियोगिता सञ्चालन गर्न सुरू गरेको हो । कोभिड महामारीमा केही वर्ष स्थगित प्रतियोगिता गत वर्षदेखि पुन: सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर