आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग

आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग

खाँदबारी नगरपालिका वडा नम्बर १ का एक समाजसेवी परिवारले समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

आफ्ना आमाबुवाको स्मृतिमा खाँदबारीका मनोज श्रेष्ठका ५ दाजुभाईले आइतबार एक कार्यक्रमबीच आँखा उपचार केन्द्रलाई ५० लाखको चेक हस्तान्तरण गरे । दाताहरूले यो रकम विपन्न तथा असहाय वर्गको उपचारमा खर्च गर्ने गरी सहयोग गरेका हुन् । यसअघि पनि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माणका लागि करिब ६ रोपनी जग्गा दान गरेका थिए ।

नेपाल नेत्र ज्याति संघका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई अक्षय कोषका रुपमा राख्ने र त्यहाँबाट आएको ब्याजले उपचार गर्न नसक्ने आखा रोगीको उपचार गर्ने बताए । खाँदबारीमा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब ४ हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । केन्द्रमा वार्षिक ४ सय बढीको मोतिया विन्दुको निशुल्क शल्यक्रिया गर्ने गरिएको छ ।

सम्बन्धित खबर