अरुण तेस्रोको अस्थायी ड्याम भरियो, तटीय क्षेत्रमा जोखिम

अरुण तेस्रोको अस्थायी ड्याम भरियो, तटीय क्षेत्रमा जोखिम

निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

मकालु गाउँपालिका-५, फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन टनेल भरिएर पानीको सतह बढेका कारण अरुण नदीको तटिय क्षेत्रमा जोखिम बढेको हो । यसका साथै माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेकाले पनि जोखिम थपिएको हो ।

२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो । योजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो ।

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युतका लागि करिब ७० मिटर अग्लो बाँध निर्माणका क्रममा छ ।

सम्बन्धित खबर