देशैभर बाढीपहिरो : ६६ जनाको मृत्यु, ६९ बेपत्ता

काठमाडौं उपत्यकामा मात्रै ३४ जनाले गुमाए ज्यान

देशैभर बाढीपहिरो : ६६ जनाको मृत्यु, ६९ बेपत्ता

बिहीबार रातिदेखि अविरल परेको मनसुनी वर्षापछि आएको विपद्‍मा परेर शनिबार साँझसम्म ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार साँझ ६ बजेसम्म बाढीपहिरो र डुबानमा परी ६९ जना बेपत्ता भएका छन् भने ६० जना घाइते छन् ।

काठमाडौं उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन् । काठमाडौंमा ११ जनाको ज्यान गएको छ । १० जना घाइते र ६ जना बेपत्ता छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ । ललितपुरमा १८ जनाको ज्यान गएको छ । ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ । काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

 ६८ स्थानमा सडक अवरूद्ध

वर्षाका कारण शनिबार मध्यान्हसम्म विभिन्न राजमार्गका ६८ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन् । काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं जोड्ने नागढुंगा-नौबिसे, दक्षिणकाली-सिस्नेरी-भिमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको छ । त्यस्तै, बीपी राजमार्ग, मध्यपहाडी, पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर सवारी साधन र यात्रु सडकमै रोकिएका छन् ।

उपत्यका प्रवेश गर्नै सबै सडक बन्द

काठमाडौं उपत्यका छिर्ने सबै सडक बन्द अवस्थामा रहेको छ । सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया-पथलैया-हेटौँडा-भैँसे-पालुङ-नौबिसे-काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे-मुग्लिन-पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागले जनाएको छ । विभागका अनुसार अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

२० हजार प्रहरी परिचालन

जोखिममा परेका नागरिकको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालित भएको गृह मन्त्रालयले जनाएको छ । काठमाडाैं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । गृह मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको छ ।

विज्ञप्ति :

सम्बन्धित खबर