चोरी तथा डाँका मुद्दाका फरार २ जना पक्राउ
चोरी तथा डाँका कसूर मुद्दाका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सभापोखरी गाँउपालिका-५, सिकिदिमका २४ वर्षीय प्रविण लिम्बु र २३ वर्षीय सविन लिम्बु पक्राउ परेका हुन् ।
उनीहरूलाई प्रहरी चौकी बाह्रबिसेको टोलीले सिकदिमबाटै गत बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गत भदौ २ गते राति सभापोखरी गाँउपालिका-३ स्थित अर्बिट इनर्जी लिमिटेडद्वारा निर्माणाधीन सभाखोला ‘बी’ २१.५ मेगावाटको जलविद्युत आयोजना अन्तर्गतको इन्टेक क्षेत्रमा काम गर्ने कामदारहरुलाई धारिलो हतियार देखाई कुटपिट गरेको उनीहरूमाथि आरोप छ । प्रहरीका अनुसार उनीहरूले उक्त क्याम्पको स्टोरमा रहेको अन्दाजी २० हजार रूपैयाँ मूल्य पर्ने ५० लिटर मोबिल र ४० हजार मूल्य पर्ने ४० लिटर हाइड्रोलिक स्टोर वरिपरी फ्याँकी नष्ट गरिदिएका थिए । यसका साथै उनीहरूले करिब १ लाख १५ हजार ४५० रूपैयाँ बराबरको बिभिन्न सामान चोरी तथा डाँका गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैलाई संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको छ ।