कोशी प्रदेशमा बाढीपहिरो : १८ जनाको मृत्यु, ५९ स्थानमा सडक अवरूद्ध
देशभर १७० जनाको मृत्यु, ४२ जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटस्थित तमोर नदीमा दुई जनाको शव भेटिएको छ । तर, उनीहरुको पहिचान खुलेको छैन । बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १९ वटा पक्की घर भत्किएको छ । प्रहरीका अनुसार ५ सय ४२ परिवार विस्थापित भएका छन् ।
बाढी र पहिरोका कारण प्रदेशभर ५९ स्थानमा सडक अवरूद्ध भएका छन् । झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको हो । प्रदेशमा बाढीले १४ वटा झोलुङगे पुल, ९ वटा पक्की पुल र ३ वटा काठेपुलमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन् भने एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो तथ्यांक आज साँझ ७ बजेसम्मको हो ।
मन्त्रालयका अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको पनि उनले जानकारी दिए । सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको उनले बताए ।
गृह मन्त्रालयको विज्ञप्ति :