किमाथांका नाकाबाट आवतजावत बन्द
किमाथांका गाउँ । पारि देन्दाङ बजार । (फाइल तस्बिर)
संखुवासभाको किमाथांका नाकाबाट आवतजावत बन्द गरिएको छ । पहिरोको कारण जनाउँदै चीनसँग जोडिएको सो नाका बन्द गरिएको हो ।
असोज १२ गतेदेखि परेको अविरल वर्षाका कारण छिमेकी चीनको चागामा पहिरो गएको कारण बाटो अवरुद्ध भएकाले आवतजावत बन्द गरिएको बताइएको छ । बाटो पुन: सञ्चालनमा नआएसम्म किमाथांका नाकाबाट मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिनियाँ प्रहरीले नै पहिरोको समयबाट हुने भौतिक क्षति रोक्नका लागि किमाथांका नाकाबाट आवतजावतमा रोक लगाएका हुन् ।
भोटखोला गाउँपालिका वडा नम्बर १ स्थित किमाथांका नाका चीन स्वशासित क्षेत्र तिब्बत प्रवेशको एउटा मुख्य नाका हो । नेपालीहरुले दैनिक उपभोग्य सामानहरु तिब्बतको चाँगा र देन्दाङ बजारबाट ल्याउने गर्छन् । किमाथांका सदरमुकाम खाँदबारीबाट करिब ६० किलोमिटर टाढा छ ।
गत जेठ १२ गते तत्कालीन उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा किमाथांकासहित नेपाल-चीन सीमामा रहेका नाका पुन:सञ्चालनमा आएको संयुक्त रूपमा घोषणा गरेका थिए । कोभिड-१९ महामारीका कारण संक्रमण फैलिने डरले चीनले २०७६ माघ ५ गतेदेखि नेपालसँगका ती नाकाहरू बन्द गरेको थियो ।