‘खाँदबारी रन’को तयारी पूरा, सहभागी संख्या बढ्ने अनुमान
भोलि सञ्चालन हुने ‘खाँदबारी रन’को तयारी पूरा भएको छ । बिहान ७ बजे खाँदबारी टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक खाँदबारी युथ क्लबले जनाएको छ ।
यस वर्ष सहभागी संख्या बढ्ने अनुमान गरिएको क्लबका महासचिव सुरेन शाक्यले बताए । उनका अनुसार यस वर्ष प्रतियोगितामा सहभागी संख्याले दुई सय नाघ्ने अनुमान गरिएको छ । गत वर्ष करिब दुई सय जनाले दौडमा भाग लिएका थिए ।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगितामा विभागीय, खुला पुरुष र खुला महिला विधा समावेश छन् । तीन विधाका लागि क्रमशः १२, १० र ८ किलोमिटर दुरी तय गरिएको छ । १८ वर्षभन्दा माथि उमेरकाले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछ । तीनै विधाका पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीले नगद १०, ७ र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता टुँडिखेल हुँदै मानेभञ्ज्याङ-अरूणथानको रूटमा सञ्चालन गरिने क्लबले जनाएको छ । क्लबले २०६१ सालदेखि प्रतियोगिता सञ्चालन गर्न सुरू गरेको हो ।