चलचित्र ‘चे’को विशेष प्रदर्शन

चलचित्र ‘चे’को विशेष प्रदर्शन

चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।

पूर्वी नेपालमा बसोवासरत आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायको संस्कृतिमा आधारित चलचित्र ‘चे’ले भौतिक विकासका नाममा प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको विनाश गरिँदा निम्तिने द्वन्द्वलाई उजागर गरेको छ । याक्थुङ (लिम्बू) भाषामा ‘चे’ को अर्थ ‘लास’ हुन्छ । मानिस मरेपछि जमिनमुनि गाड्ने लिम्बू समुदायमा परम्परा छ । समाधिस्थलहरु भत्काएर भ्यूटावर बनाउने योजना र त्यसपछि उत्पन्न हुने टकरावलाई चलचित्रको कथाले समेटेको छ ।

१ घण्टा ४५ मिनेट लामो चलचित्रको लेखन तथा निर्देशन सागर केरुङले गरेका हुन् । चलचित्रमा निर्देश केरुङसहित बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ । याक्थुङ फिल्मस् प्रालिका लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङले चे निर्माण गरेका हुन् । पाँचथरका विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिएको हो ।

विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत चोक सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ समेत उपस्थित थिए ।

सम्बन्धित खबर