कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, संखुवासभाका सबै स्थानीय तहलाई जरुरी पत्र
पहिरो जान सक्ने र एक्कासी बाढी आउन सक्ने जोखिम यथावत
असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ ।
यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न र नदी किनाराका वस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुन प्राधिकरणले अनुरोध गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरु, ट्राफिक प्रहरीहरु, यात्रुहरु र नदी किनारका बासिन्दाहरुले तदनुरुप सावधानी अपनाउन पनि प्राधिकरणको अनुरोध छ ।
प्राधिकरणको यस व्यहोराको पत्राचार गरेपछि यसैअनुसार जिल्ला प्रशासन कार्यालय संखुवासभाले पनि जिल्लाका सबै स्थानीय तहलाई यसबारे सूचित गरेको छ । सतर्कता अपनाउन र व्यवस्थापनका लागि भन्दै प्रशासन कार्यालयले जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिकालाई ‘जरुरी पत्र’ पत्र सम्प्रेषण गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।
बिहीबार दिउँसो भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसका साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
बिहीबार राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले उल्लेख गरेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।