‘लिम्बुवानका अभिलेख संग्रह’ लोकार्पण
भगिराज इङ्नामद्वारा लिखित पुस्तक ‘लिम्बुवानका अभिलेख संग्रह’ लोकार्पण भएको छ । लोकार्पित कृति मुन्धुम एकाडेमीले प्रकाशित गरेको हो ।
शुक्रबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, इतिहासविद् दिनेशराज पन्त, प्रा. बालकृष्ण माबुहाङ, डा. कमल तिगेला, किराँत याकथुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकमा काठमाडौं उपत्यका र लिम्बुवानका विभिन्न क्षेत्र, अड्डा र गाउँघरबाट सङ्कलन गरिएका छन्। यस ग्रन्थमा सङ्गृहीत अभिलेखहरू सेन, शाह, सिक्किमे र तिब्बती राजाहरूले पल्लो किरात लिम्बुवानका लिम्बू, याक्खा, लोहोरुङ, याम्फू र आठपहरियालगायतलाई राय, राऐ र राई आदि सम्बोधन गरी प्रदान गरेका लालमोहर, स्याहामोहर, कस्यपत्र, पुर्जी, सनद र इस्तिहार आदि समावेश छन् ।
लोकार्पित पुस्तकबारे बोल्दै बैरागी काइँलाले यहाँ समेटिएका विषयले तत्कालीन राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति बताउने उल्लेख गरे । प्राध्यापक पन्तले नेपालको इतिहासलाई प्रामाणिक रूपमा अघि बढाउने ऐतिहासिक सामग्रीहरूको अनुसन्धान अझै खड्किएको बताए । ग्रन्थबारे तथ्यांकशास्त्री माबुहाङ, डिबी आङ्बुङलगायतले चर्चा गरेका थिए ।
इङ्नामको २०७७ सालमा प्रकाशित ‘लिम्बुवानको दस्तावेज संग्रह’ ग्रन्थले मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसअघि उनका ‘लिम्बू जातिको इतिहास’ र ‘तेह्रथुमको सुब्बांगी प्रथा’ (सहलेखन) कृति प्रकाशित छन् ।