दोश्रो चरणको पहिचान आन्दोलन घोषणा, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

कोसी नामका लेटर प्याड र छाप प्रयोग नगर्न आग्रह

दोश्रो चरणको पहिचान आन्दोलन घोषणा, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

कोसी नाम खारेजीको माग गर्दै पहिचानवादीले फेरि आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर पहिचानवादीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

नयाँ आन्दोलनको कार्यक्रमअन्तर्गत आगामी फागुन १७ गते कालो दिवसको रूपमा मनाइने संघर्ष समितिले जनाएको छ । एमाले नेतृत्वको तत्कालीन सरकारले ०७९ फागुन १७ गते प्रदेश नम्बर १ लाई कोसी नामकरण गरेको थियो । लगत्तै पहिचानवादी आन्दोलित भएका थिए ।

पहिचानसहितको नाम राखिनुपर्ने उनीहरूको माग यथावत् छ । संघर्ष समितिले चैत १० गतेसम्म कोसी प्रदेशको नाम खारेजी गरेर पुनः नामांकनको प्रक्रिया सुरु गर्नुपर्ने प्रमुख माग अघि सारेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए । “हामी आफ्नो मागबाट रत्तीभर पनि डगमगाएका छैनौँ । कोसी नाम नफेरिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” उनले भने ।

थेगिमका अनुसार, संघर्ष समितिले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडताल गर्ने र कोसी पक्षमा प्रदेशसभामा मतदान गर्ने प्रदेश सांसदलाई जिल्लामा हुने कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको छ । यस्तै, सरकारी कार्यालय र अड्डामा राखिएका कोसी नामका बोर्डमा कालो पोत्ने, कोसी लेटर प्याड र छाप प्रयोग गर्न नदिने उनीहरूको निर्णय छ । “पहिले कर्मचारीहरूलाई अनुरोध गर्छौं, नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउँछौँ,” थेगिमले भने ।

कांग्रेसका केदार कार्की मुख्यमन्त्री छँदा प्रदेश सरकारले सरकारी वार्ता समिति गठन गरी वार्ता अघि बढाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । कोसी नामको सन्दर्भमा प्रमुख दल एमाले, कांग्रेस र माओवादी केन्द्रले सहमति गरेका थिए । तर, पछि माओवादीले आफ्नो निर्णयबाट पछि हट्दै पहिचानवादी नाम हुनुपर्ने निर्णय गरेको थियो । कांग्रेसले भने कोसीका सन्दर्भमा आफ्नो फरक मत भएको स्पष्ट नगरे पनि १४ जिल्लाका कांग्रेस सभापतिहरूले पहिचानको नाम हुनुपर्ने भन्दै प्रेस विज्ञप्ति निकालेका थिए ।

पहिचानवादीको आन्दोलनको क्रममा मोरङका पदमकुमार लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो । आन्दोलनका क्रममा १५० जनाभन्दा बढी आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएका थिए ।

सम्बन्धित खबर