खाँदबारी-किमाथांका सडकको ‘ब्रेक थ्रु’
त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा

जोगवनी नाकादेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडकको ‘ब्रेक थ्रु’ गरिएको छ ।
संखुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी-किमाथांका सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।
उक्त सडकको भोटखोला गाउँपालिका-१, च्याम्ताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।
मन्त्री खड्काले गत १२ पुस रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा मन्त्री खड्काले खाँदबारी-किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल-भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे ।
सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए । किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । ‘यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,’उनले भने ।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई धन्यवाद दिए । मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए । उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए ।