५० जनालाई याक्खा भाषा प्रशिक्षण

५० जनालाई याक्खा भाषा प्रशिक्षण

किरात याक्खा छुम्मा धरान महानगर कार्य समितिले सात दिने याक्खा भाषा प्रशिक्षण सम्पन्न गरेको छ । धरान-१६, जोरसखुवास्थित छुम्माको केन्द्रीय भवनमा शुक्रबार प्रशिक्षण कार्यक्रम समापन भएको हो ।

सहभागीहरुलाई नियमित बोलीचाली, आपसी संवाद, व्यक्तिगत परिचय दिन सक्ने गरी याक्खा भाषा प्रशिक्षण गराइएको छुम्माको महानगर समिति अध्यक्ष पञ्चमाया ताम्लीले बताइन् । उनका अनुसार प्रशिक्षणमा ५० जना सहभागी थिए । मुख्यगरी अहिलेका युवापुस्ताप्रति लक्षित गरे पनि हरेकलाई सकेसम्म आफ्नो अभिभावकसहित प्रशिक्षणमा सहभागी गराइएको अध्यक्ष ताम्लीले बताइन् ।

बालबालिकाको परीक्षाका कारण चाहेर पनि कतिपयले सहभागी हुन नसकेको उनको भनाई छ । ‘परीक्षा परेर धेरै जना केटाकेटीहरु आउन पाएनन् । तर, जति आएका थिए, उनीहरु उत्साहित र जिज्ञासु रहेको पाइयो,’ उनले भनिन्, ‘समग्रमा कार्यक्रम प्रभावकारी र उपलब्धिमुलक भएको मूल्यांकन गरेका छौं ।’ । अध्यक्ष ताम्लीका अनुसार सहभागीहरुलाई प्रशिक्षणकै क्रममा अभ्याससमेत गराइएको थियो ।

कार्यक्रममा खासगरी याक्खाहरुको ऐतिहासिक थलो पाँचखपन र पाँचमझिया थुम तथा धनकुटालगायत याक्खा भाषा कम प्रचलनमा रहेका क्षेत्र पुर्ख्यौली थलो भएकाहरु सहभागी रहेको अध्यक्ष ताम्लीले जानकारी दिइन् । उनका अनुसार दशमझिया थुममा सबैभन्दा बढी याक्खा भाषा नियमित बोलीचालीमा रहेको छ । कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष ताम्लीसहित रेवत याक्खा, डिकु याक्खा र सोमा याक्खाले प्रशिक्षण दिएका थिए ।

भाषा प्रशिक्षण कार्यक्रममा लागि धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाले आर्थिक सहयोग गरेको थियो । धरानमा अस्थायी तथा स्थायी गरी करिब ३ सय घरधुरी याक्खाहरुको बसोबास रहेको जनाइएको छ ।

(सबै तस्बिरहरु सौजन्य : शिवकुमार याक्खा)

सम्बन्धित खबर