‘कोयोङ्वा वंशावली’ लोकार्पण, १९ पुस्ताको वंश विवरण उल्लेख

याक्खा जातिभित्रको कोयोङ्वा थरको वंशावली पुस्तक लोकार्पण भएको छ । आज सुनसरीको धरान-१६ स्थित किरात याक्खा छुम्माको केन्द्रीय भवनमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो ।
कोयोङ्वा याक्खा समाज, केन्द्रीय समितिद्वारा प्रकाशित पुस्तकको समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र छुम्माका केन्द्रीय अध्यक्ष भूपाल सिं जिमीले लोकार्पण गरेका हुन् । सो अवसरमा विभिन्न वक्ताहरुले वंशावली तयार पारेकोप्रति कोयोङ्वा समाज र वंशलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा केई लाक तथा अन्य सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
२ सय ३० पुष्ठको पुस्तकमा कोयोङ्वा थरका १९ पुस्ताको वंश विस्तार तथा वंश वृक्ष उल्लेख गरिएको छ । त्यस्तै, नेपालका विभिन्न जिल्लाका साथै भारतमा समेत गरेर २५ गाउँ/बस्तीमा कोयोङ्वाहरुको बसोवास रहेको पनि पुस्तकमा जनाइएको छ । पुस्तकमा प्रथम कोयोङ्वा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातवासबारे पनि लेखहरु समावेश छन् । यसका साथै विभिन्न ऐतिहासिक दस्तावेज र तस्बिरसमेत पुस्तकमा राखिएको छ ।
वंशावलीको खोजकर्ता नरेन्द्रबहादुर कोयोङ्वा र गोमबहादुर कोयोङ्वाले गर्नुभएको हो । त्यस्तै विविध विवरण संकलन तथा पुस्तकको सम्पादन पनि नरेन्द्रबहादुर कोयोङ्वाले गर्नुभएको छ । पुस्तक तयार पार्न करिब १० वर्ष लागेको खोजकर्ता, संकलक तथा सम्पादक नरेन्द्रबहादुर कोयोङ्वाले बताए । उनका अनुसार विवरण संकलन तथा खोजका लागि वंशावली निर्माण टोली नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ, असम लगायतका स्थानसम्म पुगेको थियो ।
कोयोङ्वा वंशको करिब ३ सय ५० घरधुरीमा बसोवास रहेको समाजले जनाएको छ ।
(तस्बिरहरु सौजन्य : प्रेम देवान)