‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२’ सुरु, गुराँसको राजधानीबाट उद्घाटन

नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्रीको प्रतिबद्धता

‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२’ सुरु, गुराँसको राजधानीबाट उद्घाटन

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल हो तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्र । नेपालमा पाइने गुराँसका ३२ मध्ये २८ प्रजाति पाइने यस क्षेत्रलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । तर, यस पटक भने गुराँसको राजधानीमा गुराँस फुलेको छैन ।

प्रदेश सरकारले महत्त्वको साथ घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२’ यही गुराँसको राजधानीबाट बुधबार उद्घाटन भएको छ । पर्यटन वर्षको उद्घाटन सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंह र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीलगायतले पर्यटक आवागमनमा वृद्धि गर्न र आधार निर्माणका लागि पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् ।

कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पुँजी निर्माण गरिने उल्लेख गरेका छन् । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।

प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन सुरु गरिएको हो । पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ ।

‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूचीसमेत तयार गरेको छ । नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

संसारकै होँचो उपत्यका अरुण उपत्यकासमेत यही प्रदेशमा रहेको छ ।

सम्बन्धित खबर