क्यानभासमा किराती मिथक : ५ धामी र ५ पञ्चसहित धर्ती पूजा
उनले कमसेकम पहिले आफ्नो परिचय बदल्ने अठोट लिए, र कलाकार बने

बिना सन्दर्भ सामग्री, अनि मुन्दुममा आधारित विशिष्ट विषयवस्तुमा चित्रकारिता गर्नुपर्दाको अनुभव कस्तो हुँदो हो ? अझ फरक-फरक सांस्कृतिक पहिचान अपनाएका समुदायहरुले अपनत्वबोध र स्वीकार गर्ने कुनै एउटा पेन्टिङ तयार पार्ने जिम्मेवारी लिँदा र त्यो जिम्मेवारीलाई प्रशंसनीय ढंगले पूरा गर्दा कुनै कलाकारले के महशुस गर्दो हो ?
यही अनुभूतिलाई ओदलावारी, डुवर्स (पश्चिम बंगाल, भारत)का कलाकार देवेन देवानले भने ‘जीवनकै चुनौतीपूर्ण रोमाञ्च’ भनेर सामाजिक सञ्जालमार्फत आफ्नो भावना अभिव्यक्त गरेका छन् । हो, सिक्किमका गान्तोकस्थित पारुहाङ साप्तेन माङ्खिम सह-अन्तर्राष्ट्रिय किरात राई भाषिक अनि सांस्कृतिक अनुसन्धान केन्द्रका लागि मुन्दुमी मिथकमा आधारित ८ फिट लम्बाई र ५ फिट चौंडाईको क्यानभासमा उक्त पेन्टिङ तयार पारेपछि कलाकार देवानको परिचयको दायरासमेत अझ फराकिलो बन्न पुग्यो । उनी स्वयं पनि आफ्नो कामप्रति गौरवान्वित छन् । पेन्टिङका लागि ९ जनामध्ये समितिबाट छानिएका उनले आफूलाई अन्ततः अब्बल सावित गरे ।
‘मुन्दुमी चित्रकार’को उपमा
केन्द्रले उनलाई ५ धामी (किरात पुरोहित), ५ पञ्चभलाद्मी र बुढ्यौलीसहित १३ जनाको सहभागितामा प्रकृति पूजा (धर्ती पूजा) भइरहेको विषय पेन्टिङका लागि दिएका थिए । उनका लागि यो नौलो विषय थियो । किनकि, उनीसँग यस विषयसँग तत्काल कुनै सन्दर्भ सामग्री वा भौतिक वस्तु उपलब्ध थिएन । केवल परिकल्पनामात्र थिए । अझ, चुनौती के थियो भने यस पेन्टिङ राई समुदायका सबै थरपिच्छेका लागि स्वीकार्य हुनपर्दथ्यो । तर, उनले खोजी, अनुसन्धान गरे । र, दुई महिना लगाएर तयार पारे उक्त पेन्टिङ सन् २०२२ मा । ‘रङ र वस्तुको सन्तुलन, पात्रहरुको उचित स्थान तय अनि यि सबैको संयोजन गर्नु निकै कठिन र चुनौतीपूर्ण थियो । यसैले यो अनुभव मेरो लागि रोमाञ्चक बनेको हो,’ कलाकार देवानले याक्सिगुमखबरसँग अनुभव साटे ।
उनको यस कलाकृतिलाई माङ्खिम समितिले पनि ‘नसोचेको तहको उत्कृष्ट’ भनेर प्रशंसा गरेको कलाकार देवानले सुनाए । उक्त पेन्टिङमा उनले जामा-पगरीमा कल्की सिउरेर थाल ठटाइरहेका धामीहरु र फेटा बाँधेका पञ्चभलाद्मी (बुढापाका)हरुको उपस्थितिमा भइरहेको धर्ती पूजाको परिकल्पनालाई रङमार्फत अभिव्यक्त गरेका छन् । किराती शैलीकै घर पनि उनले क्यानभासमा उतारेका छन् । हिमाल नजिकै देखिन्छ । हिमालका चिसो र पवित्र हावाले मानिसको हृदयमा शितलता र पवित्रता दिन्छ- उनको कलाको अभिव्यक्ति हो यो । समितिका लागि गान्तोकमै बसेर चित्रकारिता गरिरहँदा उनले किरात मुन्दुमका अन्य विभिन्न मिथकलाई पनि पेन्टिङमा उतारेका छन् । जसको लागि त्यहाँका मुख्यमन्त्री पीएस गोलले समेत उनको कामको प्रशंसा गर्दै सम्मान गरे । उनले ‘मुन्दुमी चित्रकार’को उपमा नै पाएका छन् । चित्रकारितामा उतारेर बिर्सँदै गएको मिथकलाई जोगाउन उनले पुर्याएको योगदानप्रति खासगरी किराती समुदाय अनुग्रहित छन् ।

कला यात्रा
४७ वर्षीय चित्रकार देवानले कलकत्ताबाट ७ वर्षसम्म कलाको अध्ययन गरे । यसका अतिरिक्त भारतका विभिन्न स्थानमा पुगेर उनले यही विष्यमा थप अध्ययन गरेका छन् । हुन त उनी बाल्यकालदेखि नै चित्रकारितामा आकर्षित थिए । उनी विद्यालयस्तरमै विभिन्न प्रतिस्पर्धामा सहभागी हुन थालिसकेको थिए । पुरस्कार पाउँथे । यसमा उनको बुवाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा पनि थियो । किनकि उनका बुवाले सौखस्वरुप नै भए पनि चित्रकारिता गर्थे । पेशाले मेकानिक थिए तर यदाकदा चित्र कोर्थे । यिनै र यस्तै माहोलले गर्दा वा अझ बढी उनकै हुटहुटी र इच्छाशक्तिले गर्दा विस्तारै उनी चित्रकारितामा डुब्दै गए । अहिले पनि डुबेकै छन् । यसको श्रेय उनी आफ्ना गुरु अजय थापालाई दिन्छन् ।
उनले दार्जिलिङ, कालेबुङ, खर्साङ, सिलगढी, जलपाईजढीलगायत भारतका विभिन्न शहरमा आफ्नो कलाको प्रदर्शनी गरिसकेका छन् । विभिन्न तालिम र गोष्ठीमार्फत धेरैलाई ज्ञान बाँडेका छन् ।
खिन्नताले कला
भारतभर अहिले सामाजिक समानताको हिसाबले नेपालीभाषीहरु धेरै अगाडि बढिसकेका छन् । सरकारी सेवादेखि लिएर सामाजिक हैसियतका हरेक क्षेत्रमा नेपालीभाषी (गोर्खा)हरुले उल्लेख्य प्रगति हासिल गरेका छन् । तर, जब चित्रकार देवान भर्खर केही बुझ्ने उमेरका भए, त्यसताका नेपालीभाषीलाई हेर्ने दृष्टिकोण उ बेलाको पश्चिम बंगाल र अझ खासगरी भारतभर नै राम्रो थिएन, गोर्खालीहरु विभेदमा थिए । खास परिचयको संकट थियो । गोर्खाहरु केवल चौकीदार वा भरिया किसिमका परिचयमा मात्र सीमित थिए । भारतीय चलचित्रहरुमा समेत नेपालीभाषीलाई त्यही रुपमा प्रस्तुत गरिन्थ्यो ।
यही अवस्थाबाट खिन्न महशुस गरेका उनले कमसेकम पहिले आफ्नो परिचय बदल्ने अठोट लिए । र, केही फरक तथा सम्मानजनक पेशा अँगाल्ने मनसाय गरे । निरन्तरको लगाव र मेहनेतले उ आफू कलाकार बने । यसका लागि ‘बंगाली समाजमा कलाको उच्च सम्मान भएको’ भन्ने उनको बुझाइले पनि केही न केही काम गरेको थियो । सायद उनको जस्तै हीनताबोधले र परिश्रमले हुनसक्छ, अधिकांश गोर्खाहरुले पनि पहिचान बदले । ‘खेल, कला, व्यापार, सरकारी सेवा हरेक क्षेत्रमा गोर्खाहरुले उल्लेख्य प्रगति गरेका छन् । गोर्खाहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छ,’ कुराकानीका क्रममा उनले सगर्व सुनाए ।
चित्रभन्दा विषय जटिल
कुनै पनि विषयलाई चित्रमा उतार्नु जति कठिन छ । त्योभन्दा गाह्रो सम्बन्धित विषयबारे स्पष्ट जानकारी हुनु वा बटुल्नुमा हुन्छ । कलाकार देवानको अनुभव हो यो । र, वास्तविक कलाको शिक्षा वा सिद्धान्त पनि यही हो । विषयवस्तुबारे जानकारी छ भने वा जानकारी बटुलिसकेपछि मस्तिष्कमा स्वतः चित्र तयार भइसक्ने उनी बताउँछन् । भन्छन्, ‘क्यानभासमा त ३० प्रतिशतमात्र काम हुने हो । ७० प्रतिशत बाँकी काम सम्बन्धित विषयको खोज, अनुसन्धान र जानकारी संकलनमा हुन्छ ।’
पुर्ख्यौली थलो पुग्ने चाहाना
उनको बाजेको बुवा संखुवासभाको चैनपुरबाट खर्साङ पुगको रहेछन् । बाजे खर्साङमै जन्मे । र, सरकारी नोकरी गरे । देवेनको बुवासमेत खर्साङमै जन्मिएका हुन् । रोजगारी र व्यवसायको सिलसिलामा बुवा डुवर्स पुगे । र, देवेन पनि डुवर्समै जन्मे । बुवाले सुनाएअनुसार पुर्ख्यौली थातथलो चैनपुर भनिए पनि कुन गाउँ भन्नेबारे देवेनलाई स्पष्ट जानकारी छैन । उनको थर लिङखिम हो । यो कुरा पनि देवेनलाई बुवाले नै सुनाएका हुन् । उनी एकाध पटक झापाको दमकसम्म आएका छन् । पुर्ख्यौली थलोसम्म पुग्ने उनको चाहाना छ ।