सुम्निमा-पारुहाङको प्रतिमा तोडफोड घटना ‘हिंसा भड्काउने उद्देश्यले प्रेरित’
सारा किराती समुदायकै शिरमा ठाडै प्रहार : यायोक्खा

खोटाङको दिप्रुङ चुईचुम्मा गाँउपालिका, वडा नं. ६, छितापोखरीस्थित सुम्निमा-पारुहाङ पार्कमा रहेको सुम्निमा-पारुहाङको प्रतिमा लगायतका सामग्री तोडफोडप्रति किरात राई यायोक्खाले ध्यानाकर्षण भएको जनाएको छ ।
यायोक्खाले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेको छ । यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई र महासचिव भिम राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वभरी छरिएर रहेका किरात राई समुदायलगायत सारा किराती समुदायकै शिरमा ठाडै प्रहार भएको उल्लेख छ ।
‘किराती समुदायहरुको आस्थाको धरोहर तथा सृष्टिकर्ता सुम्निमा-पारुहाङ र किरात राईहरुको मुख्य मुन्दुमी सामाग्री चिन्डो (वाबु, वाबुक, स्वालेवा आदि नामले पुकारिने)को प्रतिमा मिति २०८१/१२/३० गते अराजक तत्वहरुले तोडफोड गरी प्रतिमालाई पूर्ण रुपमा नष्ट गरिएको घटनाप्रति किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिलगायत विश्वभर छरिएर बसेका यायोक्खाका सबै जिल्ला, गाउँ, नगर, वडा, भातृ, प्रदेश, आवद्ध २६ भाषिक-थरगत केन्द्रीय संस्थाहरु, विदेश सङ्गठनहरु लगायत किरातजन्य सङ्घ संस्थाहरु र सारा किरातीहरुको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘किरातीहरुको आस्थाको धरोहर, सृष्टिकर्ता, तथा सर्वोच्च देवताहरु सुम्निमा र पारुहाङ साथै चिन्डोको प्रतिमा माँझकिरातकै भूमिमा तोडफोड हुनुले समग्र ३२ थरी २६ भाषी किरात राई समुदाय र सम्पूर्ण किरातजन्य संघ संस्थाहरु प्रतिको त्यस प्रहारको खेद प्रकट गर्दै, धार्मिक हिंसा भड्काउने उद्देश्यले प्रेरित सो जघन्य अपराधको जति निन्दा गरे पनि कमै हुन्छ । तसर्थ, प्रकृति पूजक तथा कुलपितृ पूजक र तीन चुला मान्ने किरात राई समुदायमाथिको यस प्रहारले विश्वभरी छरिएर रहेका किरात राई समुदायलगायत सारा किराती समुदायकै शिरमा ठाडै प्रहार भएकोप्रति घोर भत्सर्ना गर्दै त्यस्ता निच कार्य गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कार्वाही गरियोस भन्ने नेपाल सरकारको गृह प्रशासनलाई माग गर्दछौं ।’
अन्यथा, किराती समुदायमाथि त्यस धार्मिक-सांस्कृतिक प्रहारबाट उब्जिएको आवेगलाई रोक्न नसकिने र त्यसबाट उत्पन्न परिस्थितिको प्रहरी प्रशासन, तिनै तहको नेपाल सरकार स्वयं जिम्मेवार रहने समेत यायोक्खाले जनाएको छ ।
विज्ञप्ति :