यलम्बरको ‘विश्वकै अग्लो’ सालिक निर्माण, उभौलीमा उद्घाटन गर्ने तयारी
यसको कुल लागत १४ करोड रुपैयाँ रहेको छ

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्रथम किरात राजा यलम्बरको एक सय १० फिट अग्लो सालिक निर्माण भएको छ । नगरपालिकाको वडा नम्बर १४, बुइपा, पञ्चदोबाटोमा उक्त सालिक निर्माण गरिएको हो ।
पूर्णकदको उक्त सालिकलाई हालसम्म निर्माण भएका यलम्बरको सालिकमध्ये विश्वकै अग्लो दाबी गरिएको छ । सालिक निर्माणका लागि कोशी प्रदेश सरकार र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त लगानी रहेको छ । यसको कुल लागत १४ करोड रुपैयाँ रहेको छ । ३० रोपनी सरकारी जग्गामा फाइबरको प्रयोग गरी सालिक निर्माण गरिएको हो । यलम्बर पार्कमा फूलबारी, विश्रामस्थल, खाजाघर पनि निर्माण गरिएको छ ।
नगर उपप्रमुख विशन राईका अनुसार सालिकको निर्माण कार्य करिब सकिएको छ । ‘काम करिब सकिएको भन्दा पनि हुन्छ । अब चाँडै नै निर्माण कम्पनीबाट हस्तान्तरण हुन्छ । त्यसपछि सर्वसाधारणका लागि खुला हुन्छ,’ याक्सिगुमखबरसँग उनले भने । उनका अनुसार सालिकको उद्घाटन आगामी उभौली (वैशाखै पूर्णिमा)को दिन गर्ने योजना छ । ‘वैशाखे पूर्णिमाको अवसरमा उद्घाटन गर्ने तयारी छ । तर, पक्कापक्की चाहिँ भइसकेको छैन । छलफलपछि मिति सार्वजनिक गर्छौं,’ उपप्रमुख राईले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई खोटाङ भित्र्याउने उद्देश्यले यलम्बरको सालिक निर्माण गरेको नगरपालिकाले जनाएको छ । यसबाट जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने नगरको अपेक्षा छ ।
पूर्वी नेपालका विभिन्न स्थानमा यसअघि पनि यलम्बरका सालिकहरु निर्माण भएका छन् । खासगरी, कलाकार टेकबीर मुखियाले तयार पारेको यलम्बरको स्केचमा आधारित भएर सालिकहरु बनाइएका छन् । तर, कतिपय स्थानमा भने भिन्न र स्वरुप नमिलेका सालिकहरु समेत निर्माण भएको पाइएको छ ।
इतिहासकारहरुका अनुसार काठमाडौं उपत्यकामा गोपाल वंशलाई पराजित गरी यलम्बरले किरात शासन सुरु गरेका थिए । यस अवधिमा किरात वंशका ३१ पुस्ता (कतै ३२ उल्लेख)ले करिब ८ सय वर्ष शासन गरेका थिए । किरातहरुलाई पराजित गरी लिच्छिवहरुले शासन चलाएको इतिहास छ ।