न्याउली चरीको विरही कथा

न्याउली चरीको विरही कथा

धेरै अघिको कुरा हो । हालको कोशी प्रदेशअन्तर्गत एक दुर्गम पहाडी गाउँमा एक सुनार दम्पत्ती बस्दथे । उनीहरूको एक नावालक छोरा थियो । उसको नाम ‘न्याउले” थियो । न्याउलेका बा-आमा आरनको काम गर्दथे । आरनमा हप्ताभर कमाएका हँसिया, खुकुरी, फाली, करूवा, कुटो, कोदालो आदि नजिकका हाट-बजारमा लगेर बेच्थे र त्यसबाट आएको पैसाले नयॉ फलाम र हप्ता भरीलाई पुग्ने राशन, नुन, तेल आदि किनेर ल्याउँथे ।

उनीहरूले सानो छोरालाई आरननजिकै कोक्रामा सुताएर फलाम कमाउने काम गर्दथे । न्याउलेका बाले आरनमा तताएको झर्झराउँदो फलाम सनासोले च्यापेर लिहीमा राख्थे र उनकी आमा दुई हातले मच्चाएर घनले तातो फलाम पिट्थिन् । यसरी दिनभर काम गर्दा केही जोर हतियारहरू तयार हुन्थे । फलाम कमाउन गोल चाहिने भएकाले उनीहरू बेला-बेला रानीवनमा गोल (काठको कोइला) काट्न जान्थे । साँझमा दुवैजना ढोक्से भरी-भरी गोल बोकेर घर फर्कन्थे ।

गोल काट्न जादा उनीहरूले आफ्नो प्यारो छोरा न्याउलेलाई सिकुवाको लाछीमा झुण्ड्याएको कोक्रोमा सुताएर जान्थे । उता न्याउले ब्युझिएपछि भोक-तिर्खाले छटपटाउँदै कहिले आमालाई बोलाउँथ्यो । कहिले डाको छोडेर रून्थ्यो । कहिले आफैँ कोक्रो मच्चाई खेल्थ्यो र अन्ततः भोक-तिर्खाले अलास-तलास हुँदै दिशा-पिसावले भिजेको कोक्रोमा फेरि लुटुक्क निदाउँथ्यो । उसको मुख, ऑखा र नाकका प्वालभरी झिँगाहरू झुम्मिएर पाखुरा सुर्किरहेका हुन्थे ।

झमक्क साँझमा बा-आमा घर आइपुग्दा न्याउले आमा … ! आमा … ! भन्दै रोइरहेको हुन्थ्यो । दिनभरीको भोक, तिर्खा र थकाईले लखतरान परेकी न्याउलेकी आमा फाटेको चोली उचालेर न्याउलेलाई दूध चुसाउँथिन् । पेटभर दूध खान पाएपछि ऊ आमाको काखमा लुटुक्क निदाउँथ्यो । आमा चाहिँ छोराको कपाल सुम्सुम्याउँदै उसको अवोध अनुहारमा हेर्थिन् र गहभरि आँशु पार्दै मनभरि गरिव दुखी हुनुको पीडा भाव प्रकट गर्दथिन् ।

एक दिनको कुरा हो । बा-आमा गोल काट्न भनेर जंगल गएका वखत न्याउले कोक्रोमा बसेर मच्चिरहेको थियो । यस्तैमा अकस्मात् कोक्राको डोरी चुँडियो र ऊ हुत्तिएर घरमुनि सिस्नोको झ्याङमा खस्यो । सिस्नोले पोलेर ऊ रून-कराउन लाग्यो । परन्तु उसलाई त्यहाँबाट निकाल्ने कोही भएनन् । बेलुका गोलको भारी लिएर घर फर्किएका बा-आमाले न्याउलेलाई सिस्नोको झ्याङमा रोईरहेको देखे । त्यसपछि हत्तपत्त गोलको भारी बिसाएर उनीहरूले छोरालाई त्यहाँबाट निकालेर घरमा लगे । उसको शरिर सिस्नोले पोलेर राताम्मे भई सुन्निएको थियो ।

यस्तैमा उनका बाले छोराको शरीरमा अनेक जडिवुटीहरूको मल्हम लगाई सिस्नोको डाह शान्त गराए । ‘दुखीलाई जसो गरे पनि दु:ख माथि दु:ख’ भनेझैं केही समयपछि उनीहरू पुनः गोल काट्न भनि रानीवन गएका वखत उनको छोरालाई विषालु सर्पले डस्यो । साँझमा गोलको भारी लिएर घर पुग्दा न्याउले सर्पको विष लागेर मराणासन्न अवस्थामा भूइँमा लडिरहेको थियो । विषको प्रभावले उसको शरीर पुरै निलो भएको थियो । दुवै आँखा वन्द भैसकेका थिए । विषको प्रभावले न्याउले नबुझिने बोली बर्बराई रहेको थियो ।

आफ्नो प्यारो छोराको यस्तो हालत देखेर न्याउलेका बा-आमा छाती पिटिपिटी रून लागे । उता न्याउलेकी आमा आफ्नो छोरालाई काखमा लिएर कहिले ऑखा खोलिदेउन मेरो छोरा … ! भन्दै रून्थिन् । कहिले एकपटक आमा भनेर बोलाइदेउन छोरा हौ … भन्दै भक्कानिन्थिन् । कहिले अनुहारमा म्वाई खान्थिन् । कहिले काँधमा बोक्थिन् । कहिले झक्झक्याएर उठाउन खोज्थिन् परन्तु न्याउले भने हल न चलको अवस्थामा थिए । यस्तैमा न्याउलेका बाले सर्पको विष काट्ने अचुक जडिबुटीहरू ल्याएर छोरालाई ख्वाए । सिरूको पातले मन्त्र जप्दै घाउबाट सर्पको विष झारे ।

लामो प्रयासपछि न्याउलेको होस् त खुल्यो । तर उनलाई पूर्ण रूपमा निको भने भएन । उनको स्वभाव सर्पको जस्तै हुन थाल्यो । उनी घरमा भन्दा सर्पहरू बस्ने दुलो, ओढार, गुफा, ढुंगाको च्याप, झार-जंगल आदि ठाउँमा गएर बस्न थाले । उनको यस्तो स्वभाव हट्नुको सट्टा झन्-झन् बढ्न थाल्यो । अन्ततः एकदिन न्याउले अकस्मात् घरबाट गायब भयो । उनका बा-आमाले उनलाई वन-जंगल, दुलो, ओढार भीरपाखा, गुफा जताततै खोजे तर कहि फेला पार्न सकेनन् । यसरी छोरो फेला पार्न नसकेपछि उनीहरू आफ्नो भाग्य र कर्मलाई दोष दिँदै मन बुझाउन बाध्य भए र विस्तारै आफ्नो नियमित काममा फर्किए ।

एक दिनको कुरा हो, न्याउलेका बा जंगलमा गोल पोलिरहेका थिए । उनकी आमा नजिकै बसेर छोरालाई सम्झँदै विछोडको पीडा खप्न नसकी वलिन्द्रधारा आँशु झार्दै धुरूधुरू रोइरहेकी थिइन् । पत्नीलाई भावविह्वल अवस्थामा देखेर न्याउलेका बा गोल पोल्न छोडेर उनलाई सम्झाउन लागे । चैत्रको खडेरीमा रूखका पातहरू झरेर भूइँ छपक्कै छोपेको थियो । वन-जंगल उराठ लाग्दा देखिन्थे । यस्तो परिवेशमा न्याउलेका बाले पनि मन थाम्न सकेनन् र पति-पत्नी एकआपसमा अंकमाल गर्दै डाको छोडेर रून लागे ।

दैवको लिला … ! पोल्दै गरेको गोलको झिल्का उडेर वरिपरिका जंगलमा भयंकर आगो सल्कियो । त्यहाँबाट भाग्दा-भाग्दै न्याउलेका बा-आमा डढेलोको चपेटा परे र हेर्दा-हेर्दै उनीहरूलाई डढेलोले सलक्कै निल्यो । यसरी डढेलोमा परेर ज्यान गुमाएका न्याउलेका बा-आमाले न्याउली चराको जुनी फेरे र चैत-वैशाखको खडेरीले उजाड भएका वनपाखाहरू चहार्दै ‘न्याहुल-न्याहुल’ भन्दै आफ्नो छोरालाई बोलाउ थाले । जुन क्रम आजसम्म पनि चलिरहेको हो भनिन्छ ।

नेपाली लोकजीवनले न्याउली चरीलाई विरहको प्रतीक मान्दछ । यस चराको बारेमा हाम्रो समाजमा यस्ता अनेकौं मिथक सुन्न पाइन्छ । मौलिक भाकाका नेपाली लोकगीतहरूमा न्याउली चरीको विरहगाथालाई यसरी प्रस्तुत गरिन्छ :-

छतिवनै काठकी मादलु मेरो
सपनीमा ब्यूँझाइदिने
किन रोयौ न्याउली चरी
बिर्से मायाँ सम्झाइदिने …

गाईले चर्ने रन र वन
भैंसीलाई पारि वन
रमिते पाखा न्याउलीको भाका
सम्झेर रून्छ मन …

लेकै फुल्ने लालीगुराँस
वेसी फुल्ने प्याउली
पिरतीलाई परेवा त
विरह गाउने न्याउली …

किन रून्छ्यौ वनकी चरी
तिमीभन्दा म छु नि वैरागी …

नवीन खडका
संस्थापक अध्यक्ष
(अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपाल ।)