चैनपुर नगरपालिका र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

चैनपुर नगरपालिका र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चैनपुर नगरपालिकाको ११औं वार्षिकोत्सवको अवसरमा भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

प्रतिनिधिमण्डलसहित चैनपुर आएका ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । प्राचीन, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण चैनपुर नगरपालिकामा बिहीवार ललितपुर र चैनपुरबी औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना भएको हो ।

पूर्वाधार तथा शहरी विकास, समाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्कृति तथा संम्पदा संरक्षण, पर्यटन प्रर्वद्धन र शिक्षा स्वास्थ्य र आर्थिक प्रर्वद्धनका क्षेत्रमा आपसी सहयोग र अनुभव आदनप्रदान गर्ने लगायतका विषयमा सम्झौता भएको छ । त्यसैगरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गरी उत्पादित समानहरुको बजारीकरण तथा व्यावसायिकताका लागि आवश्यक सहयोग र सहकार्यमा जोड दिने सम्झौतामा उल्लेख छ ।

कला, संस्कृति, सम्पदा झल्कने योजनामा चैनपुरको विकासका लागि ललितपुर महानगर तयार रहेको मेयर महर्जनले प्रतिवद्धता जनाए । ‘भगिनी सम्बन्धबाट अब हामी एकै परिवारका भयौं । दुःखसुख साटासाट हुनेछ,’ उनले भने । चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने बताए ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा स्थानीय जातजाति र संघ-संस्थाले सांस्कृतिक नृत्य र झाँकीहरू प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर