विकल्पमा अरूण-सप्तकोशीपूर्व ‘लिम्बुवान’ आठौं प्रदेशको माग
१९८८ सालको 'सत्यधर्म मुचुल्का'मा बहस प्रारम्भ गर्ने प्रतिवद्धता

किरात याक्थुङ चुम्लुङले अरूण-सप्तकोशीपूर्व ‘लिम्बुवान’लाई आठौं प्रदेशको विकल्पको रुपमा प्रस्ताव गरेको छ । मोरङको सुन्दरहरैंचामा वैशाख २६ र २७ गते सम्पन्न २६औं राष्ट्रिय चुम्लुङले यस्तो प्रस्ताव गरेको हो ।
चुम्लुङले प्रदेशको नाम ‘कोशी’लाई अस्वीकृत गर्दै १४ जिल्ला समेटिएको प्रदेश नं. १ लाई ‘लिम्बुवान, किरात’ नामांकन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवं १८३१ सालको लिम्बु-गोर्खा सन्धिको आधारमा अरूण-सप्तकोशीपूर्व मेचीसम्मको भू-क्षेत्रमा ‘लिम्बुवान’ आठौं प्रदेश) निर्माण गर्न माग गरेको छ । सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले प्रदेशको नामांकन गरिएको चुम्लुङको ठहर छ ।
राष्ट्रिय चुम्लुङमा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, चितवन, ललितपुर,काठमाडौं, भक्तपुर, संखुवासभा, धनकुटा र ताप्लेजुङ जिल्ला कार्य समितिहरू, लिम्बुवान प्रदेश समिति, नेवाः ताम्सालिङ प्रदेश समिति, विषयगत संगठनहरू, थरगत तथा लिम्बुजन्य संस्थाहरू र विदेशस्थित किरात याक्थुङ चुम्लुङहरूबाट प्रतिवेदनहरू प्रस्तुत भएका थिए । चुम्लुङले संस्थाको संगठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन, मुन्धुम शिक्षा कार्यान्वयन, प्रदेशको नाम कोशी खारेजी, मुक्कुम्लुङ संरक्षण, केबलकार खारेजीलगायत विषयमा छलफल गरी प्रस्तावहरु पारित गरेको छ ।
चुम्लुङले ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ)मा निर्माणाधीन केबलकार खारेजी हुनुपर्ने माग राखेको छ । ‘स्थानीय जनता एवं रैथाने आदिवासीको असहमतिका बाबजुद ताप्लेजुङ जिल्लाको याक्थुङ लगायतका जातिहरूको पवित्र धार्मिक क्षेत्र मुक्कुम्लुङमा पचासौं हजारभन्दा बढी याक्थुङ/लिम्बु मुन्धुमी रूख विरूवा कटान गर्दै बन्न लागेको केबलकार निर्माण योजना तत्काल खारेज गर्न र सो केबलकार निर्माण सफल बनाउन मुन्धुमी आस्थास्थल मुक्कुम्लुङ बेसक्याम निर्माण गरी राखिएको सशस्त्र प्रहरी बल अविलम्ब फिर्ता गर्न, मुक्कुम्लुङ संरक्षकहरू माथि गोली प्रहार गर्ने, दमन गर्ने, अत्याचार गर्ने साथै मानव अधिकारको चरम उल्लंघन गर्ने राज्य निकायका सिडिओ, डीएसपी लगायतलाई अविलम्ब कडा कारवाही गर्न र मुक्कुम्लुङ संरक्षकहरू विरुद्ध विनाकारण दायर गरिएको झुटा मुद्दाहरू खारेज गर्न राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ,’ राष्ट्रिय चुम्लुङपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
आदिवासी याक्थुङ/लिम्बु भाषा, लिपि, साहित्य, संस्कार, संस्कृति, इतिहास, भूमि, लिम्बुवान सभ्यतालगायत पहिचानका मुद्दाहरूको संरक्षण, विकास र थप सृजनात्मक एवं संघर्षका कार्यक्रमहरू तयार गरी अगाडि बढ्नका लागि दोस्रो याक्थुङ/लिम्बु अन्तर्राष्ट्रिय भेला आयोजना गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको अगुवाइमा भएको दस लिम्बुवान सत्र थुमका याक्थुङ अगुवाहरूको १९८८ सालमा पाँचथरको लब्रेकुटी भेलाबाट जारी ‘सत्यधर्म मुचुल्का’मा बहस प्रारम्भ गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
विज्ञप्ति :