कुलुङ जातिको पहिलो प्राज्ञिक छलफल

कुलुङ जातिको पहिलो प्राज्ञिक छलफल

यही वैशाख १२ र १३ गते कुलुङ जातिहरुको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको थियो । जुन सम्मेलनलाई कुलुङ जातिको पहिलो ‘अकाडेमिक डिस्कोर्स’ (प्राज्ञिक छलफल) मान्न सकिन्छ । सो सम्मेलन ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक-२०२२ २०३२’ को अवसरमा गरिएको हो । कार्यक्रमको मूल नारा ‘रोदू कूलू छेईचीम याखौखम्, (किरात कुलुङ स्वपहिचानः छलफल’ रहेको थियो । कार्यक्रममा सिक्किममा स्थायी बसोवासरत १३ जना कुलुङ प्रतिनिधिको समेत सहभागिता थियो ।

सिक्किमबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो । सिक्किमका प्रतिनिधि सिएम खम्बु (मोरोमूल थरका कुलुङ)ले स्वास्थ्यका कारण अन्तिममा आएर कार्यपत्र प्रस्तुत गर्न सक्नु भएन । त्यसैले सिक्किमबाट रिना ङोपोचो कुलुङ ज्यूले मात्रै आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो । नेपालबाट प्रेमचन्द्र सोम्फोरु कुलुङ, कमानसिंह होदीबू कुलुङ, उद्धवकाजी गदूहो कुलुङ लगायतले कुलुङ जातिका विभिन्न विषयमा आ-आफ्नो विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनले कुलुङ जातिका अगुवाहरुले लगभग २४ वर्षदेखि गर्दै आएको जातीय स्वपहिचानको आन्दोलनमा एक पाकेको इटा थपिएको छ भन्न सकिन्छ । हुन पनि हामी (कुलुङ जातिका अगुवाहरु) ले विसं २०६३/६४ सम्म गरेका कामको सूची नै बनाएर राखेका छौं । त्यसरी हेर्दा सडक आन्दोलन गर्ने, जनवकालत गर्ने, विभिन्न राजनीतिक दल र तिनका नेताहरु कहाँ गएर/धाएर आफ्नो समस्या सुनाउने र सरकार बन्दैपिच्छे सरकार प्रमुखकहाँ गएर पनि आफ्नो समस्या सुनाउने अनि कुलुङ जातिलाई पनि अन्य जातिसरह अलग्गै जातिमा सूचीकृत गर्न आग्रह गर्ने काम मात्रै झण्डै एकसय पटकसम्म गरेका थिएछौं ।

तर, अब हामीले कति मात्रै सडक आन्दोलन गर्ने, जनवकालत गर्ने, विभिन्न राजनीतिक दल र तिनका नेताहरु कहाँ गएर/धाएर आफ्नो समस्या सुनाउने र सरकार बन्दैपिच्छे सरकार प्रमुख कहाँ गएर कुलुङ जातिलाई पनि अन्य जातिसरह अलग्गै जातिमा सूचीकृत गर्न कति आग्रह गर्ने ? त्यसले अब ज्ञनाको सत्तामा पनि हाम्रो पकड बढाउने नीति लिनुपर्ने देखिन्छ । त्यसैको फलस्वरुप कुलुङ जातिका अगुवा तथा बुद्धिजीवीहरुले ज्ञानको सत्ताको अभ्यास पनि सुरु गरेको छ, सुरु गरेको हो । निश्चय नै यो सुरुवात मात्रै हो । यो क्रम निरन्तर चलिरहने छ ।

अब हामीले हामी कुलुङ जाति र कुलुङ जातिको जातीय संस्था किरात कूलू गूसखोम एवम् कुलुङ जातिका अगुवाहरुका साथै कुलुङ बुद्धिजीवीहरुले भविश्वमा पनि अपनत्व लिएर आफ्न भावी सन्ततिका लागि हो भन्ने सम्झेर आफूले जाने-बुझेको कुरो, विवेक र ज्ञान ज्ञुनको कुरोहरु बाँड्ने-पस्कने एवं प्रकारले चेतना र फैलाउने काम निरन्तर रुपमा गर्दै जानुपर्ने, गरिरहनुपर्ने देखिन्छ । यस पटकको अन्तर्राष्ट्रिस्तरको कार्यक्रमले केवल नेपाल र नेपालीहरुमाझ मात्रै नभएर विश्व जगतले नै हामी (कुलुङ जाति) को हौं भन्ने जान्न र बुझ्न थप सहयोग पुगेको छ भनी हामीले दावीका साथ भन्न सक्छौं ।

के कुलुङ जाति साँच्चै अलग्गै जाति हो ? वा फगतमा आफ्नो अमूल्य समय खेर फाल्दै र आफ्ना जाति अथवा समुदायलाई भ्रममा पारेर ताहुर-माहुर मात्रै गरेका हुन ? भन्ने सम्बन्धमा प्रश्न उठ्न सक्छ, । अरु जाति वा समूहमा जसरी थर र उपथरहरु रहेको हुन्छ, त्यसरी नै कुलुङ जातिभित्र पनि विभिन्न थर एवम् उपथरहरु रहेका छन् । यस्तो थर र उपथरहरु कुलुङ जातिभित्र ३६० देखि ३८० वटासम्म रहेको छ । जस्तो कि थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, थोमरोस, लाम्लछा, ताम्बूछा, तोर्ङो, सैमालूङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखू, गोक्तूलू, वालाखाम, वार्सी, तोमोछा, छेन्हो, पायात्ती, कूबीत्ती, तोर्ङो, राजीबू, हीमार, रुखूपो, सेकछा, वालाखाम, थोमरोस, मान्थेर्बू, मोल्थो, ङोपोचो, तोम्बू, ओखोथी, गदूहो, छाप्दूलू, रीङालू, वाईसूर, होलोत्ती, थोप, पीदीसै लगायत थर÷उपथरहरु रहेको छ । त्यसैले गर्दा कुलुङ–कुलुङबिचमै विहावारी हुने गरेको छ ।

त्यस्तै गरेर कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तर–पूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै (तत्कालीन गाविस)का विभिन्न स्थान (हालः महाकुलुङ र सोताङ गाउँपालिका) हुन् । यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै गरेर धेरैजसो विदेशी लेखक तथा अन्वेषकहरु एवं नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ भनेर चिन्दछन् । कुलुङ जातिको बसोवास २५÷२६ जिल्लामा पालतो–थोरै संख्यामा रहेको छ ।

१२औं राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । तिनमा १२५ वटा जातजाति २०६८ सालको ११औं राष्ट्रिय जनगणनामा पनि उल्लेख थिए । त्यसरी तथ्यांक हेर्दा नेपालको १२औं राष्ट्रिय जनगणनामा १७ जातजातिको संख्या बढेको देखिन्छ । १२औं र ११औं दुवै राष्ट्रिय जनगणनामा कुलु्ङ जाति समावेश छ ।

२०६८ सालको जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको थियो भने, कुलुङ मातृभाषीको संख्या चाहिँ ३३ हजार १ सय ७० रहेको थियो । त्यस्तै गरेर २०७८ को १२औं राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ जना र मातृभाषी संख्या ३७ हजार ९१२ जना रहेको छ । त्यस्तै गरेर पूर्खाको भाषा ‘कुलुङ’ लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ ।

तत्कालीन जनजाति विकास समितिको ६१ जनजाति सूचीमा र पछिल्लोपटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जातिमा कुलुङ जाति सूचीकृत भई नसकेको हुनाले नेपालका अन्य जातजाति, समुदाय, भाषाभाषी, धार्मिक समूह आदिका अगुवाहरुले कुलुङ जातिलाई चिन्दैनन्, जान्दैनन् । यहाँसम्म कि नेपाल कहलिएका विज्ञ वा विद्वानहरुले नै पनि कुलुङ जातिलाई नेपालको एक अलग्गै जाति हो भनेर चिनेका छैनन् वा भनौं थाहा पाएका छैनन्, जानेका छैनन्, बुझेका छैनन् ।

अहिलेसम्म राज्यले कुलुङ जातिलाई आदिवासी जनजाति सूचीमा सूचीकृत नगरे तापनि, अरुहरुले जाति नमाने पनि कुलुङ जातिको आधिकारिक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) चुप लागेर बसेको छैन । आफ्नो बल-बुताले भ्याएसम्म आफ्नो समुदायको हकअधिकारका लागि सकेको केही न केही गरिरहेको छ । त्यसैको फलस्वरुप यसपालि किरात कूलू गूसखोम संखुवासभा जिल्ला कार्य समिति, नगर समिति, सिलिछो गाउँपालिका-२ बाला गाउँ इकाई समिति, कूलू मीम्छा गूसखोम (महिला), सेस्मोखम, (विद्यार्थी) पपछा गूसखोम (युवा) आदिको संयुक्त आयोजनामा गत वैसाख १२ र १३ गते कुलुङ जातिहरुको अन्तर्राष्ट्रिय स्तरको सम्मलेन आयोजना गरिएको थियो ।

सम्मेलन ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक २०२२-२०३२’ को अवसरमा कुलुङ जातिको समग्र विषमा जस्तैः संस्कार, संस्कृति, भाषा, धर्म, चाडपर्व, पूजाआजा, वेषभुषा, रहनसहन, पितापूर्खाको इतिहास, लोक कथा, लोक जीवन, नागीरे, नोक्छो, रोङ्छोप, मोप, सेलेमोप, वैदाङ, सातीपूस, परम्परागत कानुन, गरगहना, औषधि, जडीबुटी, साँस्कृतिकस्थल, ऐतिहासिकस्थल, धार्मिकस्थल लगायतका विषय समेटेर आयोजना गरिएको हो ।

सम्बन्धित खबर